थप समाचारबुधबार, आषाढ ४, २०७१
कालिमाटी तरकारी बजारमा विषादी प्रयोगशाला
बजारमा पाइने तरकारी तथा फलफूलमा अत्यधिकमात्रामा विषादीको प्रयोग भएको गुनासो बढदै गएपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ‘दू्रत विषादी अवशेष विश्लेषण प्रयोगशाला’ ४ असारदेखि सञ्चालनमा ल्याएको छ ।
काठमाडौंको कालिमाटीस्थित समिति परिसरभित्र निर्माण गरिएको प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादीको मात्रा कति छ भनी विश्लेषण गर्न सकिने छ । मापदण्डभन्दा बढी विषादी भएका तरकारी, फलफूल तथा अन्य खाद्द वस्तु पाइए बिक्रीमा प्रतिबन्ध लगाइने समितिले जनाएको छ ।
प्रयोगशालाको उद्घाटन गर्दै मुख्यसचिव लीलामणि पौड्यालले प्राविधिक जनशक्ति विकास गरी यस किसिमको परीक्षण केन्द्र देशभर विस्तार गर्न खाँचो रहेको बताए ।
विषादी नियन्त्रण अभियानमा किसानलाई समेत सहभागी गराउन आवश्यक रहेको भन्दै पौडेलले लापरवाही ढङ्गले खाद्य वस्तु उत्पादन गर्ने कृषक तथा व्यवसायीलाई दण्डित गर्नुपर्नेमा जोड दिएका थिए ।
समितिका अध्यक्ष मोहनबहादुर चापागाईंले करिब रु २० लाखको लागतमा प्रयोगशाला सञ्चालनमा ल्याइएको जानकारी दिँदै बजारलाई व्यवस्थितरुपमा सञ्चालन गर्न आवश्यक निर्देशिका बनाइने बताएका छन् ।
