थप समाचारबिहीबार, आषाढ ५, २०७१
बलात्कृत किशोरीको साहस र संघर्ष
भृकुटी राई (काठमाडौं ) र बच्चु विक (बैतडीमा)
सपना लैनचौरस्थित रक्षा नेपालमा तेक्वान्दो अभ्यास गर्न जान थालेको एक वर्ष पनि पुगेको छैन तर, उनी आगामी महिना दक्षिण कोरियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भइसकेकी छन् ।
“मेडल जित्छु भन्ने आशा छ,” कहालीलाग्दो विगत भोगेकी १६ वर्षीया सपनाले भनिन् ।
कैलापाल, बैतडीकी सपना दुई वर्षअघि एसएलसी परीक्षा दिएर फर्कदै गर्दा स्थानीय अमरराज अवस्थी र सागर भट्टबाट बलात्कृत भएकी थिइन् ।
पढाईमा अव्वल उनलाई यो घटनाले शारीरिक र मानसिकरुपमा निकै कमजोर बनायो भने उनको एसएलसी सपना पनि चकनाचुर भयो । एकवर्ष लामो काउन्सलिङपछि मात्रै उनले अपराधिविरुद्ध अदालतमा उभिने साहस देखाउन सकिन् ।
न्याय पाउनुको सट्टा समाजबाटै लाञ्छित र बहिस्कृत हुने डरले जुन समाजका महिलाहरु चुप बस्न बाध्य हुन्छन्, त्यहाँ सपनाले न्याय खोज्ने साहस गरिन् ।
बैतडी जिल्ला अदालतले दुवै अपराधि विरुद्ध १३ वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवानको फैसला सुनाएको थियो तर पुनरावेदन अदालत महेन्द्र नगरले दुवैलाई गत महिना रिहा गरिदियो ।
दुइ वर्षदेखि काठमाडौंस्थित रक्षा नेपालको आश्रयमा रहेकी सपना अपराधिहरु छुटेको खबरले दुखी छन् । उनले भनिन्, “पुनरावेदन अदालतले कसरी उनीहरुलाई छोड्न मिल्छ ? अब म कहाँ जाने ?”
सपनाको मुद्दामा सघाइरहेका मानव अधिकारकर्मीहरु अदालतको निर्णयबाट निराश छन् । “बलात्कारीलाई छोड्नु सरासर अन्याय हो, यो निर्णयले दुखी र आक्रोशित बनाएको छ,” रक्षा नेपालकी मेनुका थापाले भनिन् ।
सपनाको मुद्दामा पैरवी गर्ने सरकारी वकिल प्रकाशबहादुर भण्डारी पनि पुनरावेदन अदालतको निर्णयबाट आफू असन्तुष्ट भएको भन्दै न्यायका लागि सर्वोच्च अदालत जाने बताउँछन् । सपनाका परिवारका सदस्यले त बलात्कारका आरोपीहरु गाउँमा घुमीरहेको देखेपछि मात्रै उनीहरु छुटेको थाहा पाएका थिए ।
“उनीहरुले मुद्दालाई अघि नबढाउन हामीलाई धम्की दिइरहेका छन्,” सपनाका बुवा भन्छन, “अदालत पनि अपराधिकै पक्षमा भइदियो, मेरी छोरीले कहाँबाट न्याय पाउने ।”
लामो समयको उपचारपछि २०७० को एसएलसी परीक्षामा सहभागी भएकी सपनाले ६८ प्रतिशत अंक ल्याएर प्रथम श्रेणीमा उत्तिर्ण भएकी छन् । सधैं कक्षामा पहिलो हुने उनलाई एसएलसी परीक्षा दिनु ठूलो कुरा त थिएन तर दुई वर्षअघि बलात्कारमा परेर शारीरिक र मानसिक आघात ब्यहोरेकी किशोरीका लागि भने यसका लागि निकै साहस बटुल्नु पर्यो ।
सपना भन्छिन, “न्यायका लागि संघर्ष गर्न छोड्दिन, उनीहरु सारा जीवन जेलमै कुहेको हेर्ने मन छ ।”
यो घटनापछि सपनालाई देशकै न्यायप्रणालीमाथि विश्वास हराउन थालेको छ । त्यसैले होला उनी वकिल बन्ने चाहना राख्छिन् ।
अहिलेलाई भने उनलाई परिवारको सुरक्षाको चिन्ता छ, विशेष गरी कान्छी बहिनीको । सपना भन्छिन, “उनीहरु (बलात्कारका आरोपी) राक्षस हुन्, मेरी बहिनीमाथि पनि त्यस्तै गरेर उम्केलान भन्ने चिन्ताले सताइरहन्छ ।”
सपना परिवर्तन गरिएको नाम हो

