समाचारबिहीबार, आषाढ ५, २०७१

इराकमा रहेका नेपालीलाई फर्कन सरकारको आग्रह

हिमालखबर

इराकका विभिन्न शहरहरुमा चरमपन्थी विद्रोहीहरुले कब्जा लिएर त्यहाँ हिंसा बढिरहेका बेला परराष्ट्रमन्त्रालयले अहिलेसम्म कुनै नेपाली अप्ठ्यारोमा नपरेको दाबी गर्दै सहयोग गर्नुपर्ने अवस्था आएमा उद्धारका लागि सरकारले तयारी गरेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले ५ असारमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता दीपक धितालले भने, “ इराकको खस्कँदो सुरक्षा अवस्थाले कुनै बखत नेपालीलाई पनि प्रभावित पार्न सक्ने देखिएकाले इराकमा रहेका नेपालीलाई सुरक्षित स्थानमा बस्न, बाहिर डुल्न र ननिस्कन र सम्भव भएसम्म नेपाल फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ ।”

नेपाली बढी रहेको बगदाद, बसरा, कारवाला र नजाफ जस्ता शहरको सुरक्षा स्थिति तुलनात्मक रुपमा स्थिर रहेको पराराष्ट्रमन्त्रालयले जनाएको छ ।

सरकारले इराकको सुरक्षा अवस्था अझै बिग्रिएमा त्यहाँका नेपालीलाई कसरी उद्वार गर्न सकिन्छ भनेर श्रम, गृह, स्वास्थ्य, पर्यटन र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सम्मिलित संयन्त्रसमेत बनाएको छ ।

इराकमा कति नेपाली कार्यरत छन् भन्ने आधिकारीक तथ्याङ्क सरकारसँग छैन तर, त्यहाँ उल्लेख्य सङ्ख्यामा नेपाली हरु जाने गरेका छन् । उद्धारका लागि विदेशस्थित कूटनीतिक नियोग तथा मिसन र अन्तर्राष्ट्रिय संस्थासँग पनि समन्वय गरिने परराष्ट्र मन्त्रालयले बताएको छ ।

मन्त्रालयले इराकमा कार्यरत नेपालीका आफन्त, सदस्य, इष्टमित्र वा साथीभाइ जोकोहीलाई इराकमा कार्यरत नेपाली कहाँ बस्छन् र कसरी सम्पर्क गर्न सकिन्छ भनेर जानकारी दिन आग्रह गरेको छ ।

त्यसका लागि टोल फ्रि नंको व्यवस्था गरिएको र रेस्क्यु एट द रेट मोफा डट जिओभी डट एनपी (rescue @mofa.gov.np) मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

पाकिस्तानस्थित राजदूतावासबाट इराकको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग सम्पर्क कायम गरिएको र आवश्यक परेमा सहयोग गर्ने इराकी अधिकारीले जवाफ दिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>