थप समाचारबिहीबार, आषाढ ५, २०७१
छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक निलम्बित
पुरानो सदरमुकाम कुन्छास्थित शान्ति उमाविका गणित शिक्षक मेघनाथ पौडेलले विद्यालयकी छात्रालाई एसएलसी परीक्षाका क्रममा यौन दुव्र्यवहार गरेको भन्दै छात्रा आफैंले ४ असारमा विद्यालयमा उजुरी दिएकी थिइन् ।
छात्राको उजुरीसँगै स्थानीयवासीले विद्यालयमा तोडफोड साथै प्राधानाध्यापक लगायत शिक्षकमाथि हातपात समेत गरेका छन् ।
एसएलसी परीक्षा दिन सुन्दरबजारको खत्रीठाँटीमा बसेका बेला गणित विषयको परीक्षाको अघिल्लो दिन शिक्षक पौडेलले यौन दुव्र्यवहार गरेको छात्राको निवेदनमा उल्लेख छ ।
निवेदन प्राप्त भएपछि विद्यालय व्यवस्थापन समिति, स्थानीय अगुवा, शिक्षक र पीडितका आफन्तसहितको बैठकले शिक्षक पौडेललाई विद्यालयबाट निलम्बन गर्ने निर्णय गरेको छ ।
बैठकमा शिक्षक पौडेलले यौन दुव्र्यवहार गरेको स्वीकार गरेपछि व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम गौलीले पौडेललाई अब विद्यालयमा हाजिर हुन नदिने बताएका छन् ।
घटनाको विषयमा पिडकलाई कारबाही गर्न पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारीमा छन् ।
युवराज श्रेष्ठ, लमजुङ
