थप समाचारशुक्रबार, आषाढ ६, २०७१
अमेरिकामा चम्केका नेपाली कालिगढ
-म्याट मिलर
माणिकलाल रिसालका बुवा र हजुरबुवा तत्कालिन शाही परिवारका लागि नक्कासी गरिएका गहना बनाउँथे । तर, ३४ वर्षअघि अमेरिका बसाई सरेका माणिकलाई भने आफूले राम्रा गहना बनाउन सक्छु भन्ने विश्वास दिलाउन नसक्दा काम पाउन गाह्रो भयो ।
विस्तारै उनले आफ्नो कला र सीपबाट त्यहाँका व्यापारीलाई प्रभावित बनाए । सन् १९९४ मा माणिकलाई लक्जरी सामान बेच्नमा नामी ‘टिफनीज’ का लागि गहना बनाउने अवसर मिल्यो ।
“मैले जे जानेको छु सबै बुवाबाटै सिकेको हुँ,” माणिक भन्छन्, “मेरा पुर्खाहरु सबै गहना बनाउँथे उहाँहरुको त्यो सीप सर्दै मसम्म आइपुगेको हो ।”
अहिले माणिकलालका छोरा धर्मले पनि गहना बनाउन सिकिसकेका छन्, उनी पनि टिफनीजका गहना डिजाइनर हुन् ।
१७ वर्षको उमेरमा बाबुसँगै अमेरिका पुगेका धर्मले त्यहाँ ‘ज्वेलरी टेक्नोलजी’ को अध्ययन गरे । उनले आफ्ना बाबुबाट सिकेको परम्परागत सीप र अमेरिकामा पढेको आधुनिक सीपलाई मिसाएर राम्रा गहना डिजाइन गर्छन् । “दुई ठाउँको ज्ञानलाई मिलाएर काम गर्दा राम्रो भएको छ,” केही साताअघि बुवासँगै नेपाल आएका धर्मले भने ।
माणिक र धर्मले टिफ्नीजका लागि डिजाइन गर्ने गहना परम्परागत नेपाली गहना जस्ता भने हुँदैनन् । तर हातले नक्कासी गर्ने उनीहरुको सीप कम्प्युटरमा गरिएका डिजाइन भन्दा फरक र राम्रा हुने भएकाले अमेरिकाको गहना संसारमा उनीहरु स्थापित भएका हुन् ।
यी बाबु–छोराले औंठी, लाखौं डलर पर्ने नेकलेस साथै टिफ्नीजको प्रसिद्ध भिक्टोरिया ब्रासलेट बनाउँछन् । “कम्प्युटर डिजाइनरले बनाउन नसक्ने यस्ता गहना बनाउँदा गर्व लाग्छ,” माणिक भन्छन् ।
उहिले दशैंका बेला हजुबुवा माणिकलाई लिएर दरबारमा जान्थे । शाही परिवारका सदस्य उनको परिवारको नक्कासी र अनुशासनबाट प्रभावित हुन्थे । त्यो समय र संस्कार अहिले उनका नाति–नातिनीले न्यूयोर्कको ब्रोंक्स शहरमा पाएको संस्कार भन्दा बेग्लै थियो । यद्दपी अझै पनि माणिकका ६ छोरा र नातिनातिनीहरु वल्लोपल्लो घरमा बस्छन् समय मिलेसम्म भेटघाट गर्छन् ।
माणिकका माहिला छोरा एरोस्पेस इञ्जिनियर हुन् भने अरु सन्तानहरु अन्य पेशामा छन् ।
“आफ्नो परिवारको ख्याल राख्नु र नयाँ पुस्तालाई सहि बाटो देखाउनु अभिभावको महत्वपूर्ण दायित्व हो,” माणिक भन्छन्, “अमेरिका बस्ने नेपालीहरुले परिवारलाई समय नदिएर ठूलो गल्ती गर्छन् ।”
कामबाट अवकाश लिने कुनै योजना नभएको बताउने माणिक आफूमा भएको सीप परिवार बाहिरका नेपालीलाई पनि सिकाउन चाहन्छन् ।
अमेरिकामा दशकौं देखि गहना व्यवसायमा लागेर दाम–नाम कमाएका माणिकको सरल बानी, आकर्षक व्यक्तित्व र सकारात्मक सोचले उनी ‘सुन भन्दा सुनौलो’ लाग्छन् ।

