समाचारशुक्रबार, आषाढ ६, २०७१
प्रम कोइरालाको जिब्रो सामान्य, फोक्सोको रिपोर्ट आउन बाँकी
अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा जिब्रोको परीक्षण गरिएपछि अवस्था सामान्य रहेको रिपोर्ट आएको सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिएका छन् ।
उपप्रधानमन्त्री वामदेव गौतमले ६ असार विहान प्रधानमन्त्रीसँगै रहेका प्रमुख सेनानी प्रकाश देउजासँग टेलिफोन सम्पर्क गरी प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए ।
प्रमुख सेनानी देउजाले प्रधानमन्त्री कोइरालाको जिब्रोको परीक्षणबाट सामान्य नतिजा देखिएको उपप्रधानमन्त्री गौतमलाई जानकारी दिएको मन्त्री रिजालले बताएका हुन् ।
फोक्सोमा देखिएको दागबारे पनि आवश्यक परीक्षण गरिएको र त्यसको नतिजा आउन केही समय लाग्ने प्रमुख सेनानीबाट जानकारी प्राप्त भएको पनि रिजालले जानकारी दिए ।
प्रधानमन्त्री कोइराला स्वास्थ्योपचारकालागि २ असारमा अमेरिका प्रस्थान गरेका थिए । ८ वर्षअघि जिब्रोमा क्यान्सर भएपछि उनको उपचार उक्त सेन्टरमा भएको थियो ।
मन्त्री रिजालले भने, “प्रधानमन्त्री कोइरालालाई जिब्रोबाटै सङ्क्रमण भई त्यसको असर अन्यत्र परेको थियो कि भन्ने जुन आशङ्का थियो त्यो आशङ्का अब रहेन ।”
