समाचारशुक्रबार, आषाढ ६, २०७१
ओलीपछि नेपालको पत्रकार सम्मेलन
नवौं महाधिवेशनमा अध्यक्षका आकांक्षी वरिष्ठ नेता माधवकुमार नेपालले दिउँसो साढे तीन बजे राजधानीको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा र संसदीय दलका नेता केपी ओलीले त्यसभन्दा एकघण्टा अघि नजिकैको अल्फाबिटा कम्प्लेक्समा पत्रकार सम्मेलन गरेका थिए ।
१९—२४ असारमा राजधानीमा एमाले महाधिवेशन हुँदैछ ।
ओली पक्षद्वारा कार्यकर्तालाई प्रलोभन र धम्कीः नेता नेपाल
वरिष्ठ नेता नेपालले ओली पक्षबाट कार्यकर्तालाई प्रलोभन, धम्की दिने काम भइरहेको आरोप लगाएका छन् । ६ असारमा आयोजित पत्रकार सम्मेलनमा उनले ओली पक्षबाट सत्ताको दुरुपयोग भएको बताए ।
उनले भने, “राजनीतिक नियुक्तिको लोभ देखाउने, विभिन्न किसिमका प्रलोभन दिने र त्यत्ति गर्दा पनि दबाबमा नपर्ने कार्यकर्तालाई राजनीतिक भविष्य खतरामा पर्ने चेतावनी प्रत्यक्ष/अप्रत्यक्ष रुपमा दबाब दिने काम भइरहेको छ ।” उनले महाधिवेशन प्रतिनिधि निर्वाचनमा आफ्नो मत स्वतन्त्र र विवेकपूर्ण ढंगले प्रयोग गर्न पनि आग्रह गरे ।
नेपालले निर्विरोध निर्वाचित भएकामध्ये ७५ प्रतिशत प्रतिनिधि आफ्नो पक्षमा भएको पनि दाबी गरे । ‘जस्को विचारः उसकै नेतृत्व’ हुनुपर्ने भन्दै उनले एमालेको हीतका लागि आफनो उम्मेदवारी भएको बताए ।
उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको दोहोर्याए । “एमालेमा नयाँ पुस्ता पनि नेतृत्वका लागि सक्षम भइसकेको छ,” उनले भने, “नेतृत्वका लागि खुट्टा अघि सारेपछि खुट्टा कमाउँदिन ।”
उनले आफू एमालेमा एक कार्यकाल मात्र पहिलो बरियतामा रहेको दावी गरे । “छैटौं महाधिवेशनबाट महासचिव भए पनि म दोस्रो बरियताको मात्र थिएँ, सातौं महाधिवेशनबाट पहिलो बरियतामा आएँ,” उनले भने, “अब म पार्टीमा एक कार्यकालभन्दा बढी अध्यक्षमा उठ्दिन ।”
नेतृत्व हस्तान्तरण हुनुपर्छः अोली
केपी ओलीले पार्टीमा अब नेतृत्व हस्तान्तरण हुनुपर्ने बताए । पार्टीमा अब नेतृत्व हस्तान्तरणको सिलसिला शुरु हुनुपर्ने उनको भनाई थियो ।
अध्यक्षका अर्का आकांक्षी नेपालप्रति लक्षित गर्दै उनले भने, “एकपल्ट नेतृत्व गरेपछि मुख्य नेता त्यसैको आडमा आजीवन पदमा टाँसिरहने प्रवृत्तिविरुद्ध हामीले कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नयाँ अवधारणा अगाडि सारेका हौं ।”
पार्टीमा योजनावद्धढंगले नेतृत्व विकास गर्ने पद्धति स्थापित हुन नसकेको भन्दै उनले भने, “पार्टी नेतृत्व घुमाइफिराइ सीमित व्यक्तिकै वरिपरि रहने स्थितिको अन्त्य गर्न मैले नेतृत्व हस्तान्तरणको विषयलाई अभ्यासको रुपमा स्थापित गर्न खोजेको हो ।” उनले आफू नेतृत्व हस्तान्तरणका लागि माध्यम मात्र भएको पनि तर्क गरे ।
उनले आफूले मात्रै आकाश ताक्ने तर भुइँमा केही पनि उम्रिन नदिने सल्लाको बोटजस्तो प्रवृत्तिले पार्टीमा युवा नेतृत्वको विकास हुन नसकेको आरोप लगाए । पार्टीलाई गतिशिल बनाउन पनि नेतृत्व हस्तान्तरण आवश्यक भएको उनको भनाइ छ ।
नेता नेपालले पुस्ता हस्तान्तरणको उठाइरहेको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले लामो समय नेतृत्व ओगट्नेले नयाँ पुस्तको कुरा उठाइरहेको टिप्पणी गरे । “उमेर हदको कुरा गरेर ५८ वर्ष पुगेका योग्यले ५७ वर्ष पुगेकालाई नेतृत्व सुम्पिन मिल्दैन,” उनले भने ।
पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष वामदेव गौतमले नेतृत्व हस्तान्तरण एउटा पदमा मात्र नभएर अरुमा पनि हुने बताए । “विधानले एक पदमा दुई कार्यकालसम्म बस्ने व्यवस्था गरेको छ,” उनले भने, “नेतृत्व हस्तान्तरण एउटा पदमा मात्र भन्ने कुरो आउँदैन ।”


