समाचारशनिबार, आषाढ ७, २०७१

चारवटै क्षेत्रमा विद्युतीय मतदान

हिमालखबर

४ मंसीर २०७० मा सम्पन्न संविधानसभाको निर्वाचनमा दुई÷दुई ठाउँबाट चुनाव जितेका उम्मेदवारले एक स्थान छाडेका कारण काठमाडौँ–२, चितवन–४, बर्दिया–१ र कैलाली– ६ मा उपनिर्वाचन ८ असार, आइतबार हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौं–२ बाट माधवकुमार नेपाल, चितवन–४ बाट सुशील कोइराला, बर्दिया–१ बाट वामदेव गौतम र कैलाली– ६ बाट शेरबहादुर देउवा विजयी भएका थिए । दुई दुई ठाउँबाट विजयी उनीहरुले एक एके स्थान छाडेका कारण उपनिर्वाचन हुन लागेको हो ।

“सम्पूर्ण मतदान विद्युतीय मतदान ः सबै मत सदर मत’ भन्ने भनाइका साथ निर्वाचन आयोगले चारवटै निर्वाचन क्षेत्रमा विद्युतीय उपकरणद्वारा मतदान हुने व्यवस्था मिलाएको छ ।

उपनिर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, निर्वाचनका लागि खटिने कर्मचारी, केन्द्रीय अनुगमन, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा खटिने जनशक्तिमा कर्मचारी र स्वयम्सेवक गरी जम्मा तीन हजार ५२० जना खटिनेछन् ।

मतदान व्यवस्थापनका लागि सम्पूर्ण निर्वाचन सामग्रीसहित आवश्यक जनशक्ति सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको र मतदानपूर्वको सबै तयारी पूरा भएको प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले जानकारी दिए ।

उपनिर्वाचनका लागि करिब रु ११ करोड खर्च हुने अनुमान आयोगले गरेको छ । आयोगले दुई वर्षअघि नै दुई–दुई ठाउँबाट चुनाव लड्ने प्रावधान राख्न नहुने कानूनको मस्यौदा गरेको भए पनि सोअनुरुपको ऐन बन्न नसक्दा उपनिर्वाचनको व्यवस्थाले निरन्तरता पाएको हो ।

लोकतन्त्रमा निर्वाचनपछि हुने उपनिर्वाचनलाई राजनीतिक दलहरुको लोकप्रियता जाँच्ने कसीका रुपमा लिइने भए पनि खर्चिलो हुने कारण यसप्रकारको उपनिर्वाचनको आलोचना पनि हुँदै आएको छ ।

चारै क्षेत्रको मतदाताको कुल सङ्ख्या दुई लाख पाँच हजार ३०४ छ । त्यसमा एक लाख २८ हजार ८८७ पुरुष, एक लाख २२ हजार ४११ महिला र ६ जना तेस्रोलिङ्गी छन् ।

आयोगका अनुसार यसपटक ती क्षेत्रमा थप २६ हजार मतदाता परिचयपत्र वितरण गरिएको छ । फोटोसहितको मतदाता परिचयपत्र लिएर मतदान स्थलमा जानुपर्ने आयोगले जनाएको छ । परिचयपत्र केही कारणबाट नभएमा नागरिकता अथवा आफ्नो फोटो भएको परिचय खुल्ने परिचयपत्रबाट पनि मतदान गर्न सकिने आयोगको भनाइ छ ।

उपनिर्वाचनमा सुरक्षाका लागि नेपाल प्रहरी पहिलो घेरामा र दोस्रो घेरामा सशस्त्र प्रहरी बललाई खटाइने व्यवस्था मिलाइएको छ । निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी ७६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये दलका ६० र स्वतन्त्र १६ छन् । महिला नौ र पुरुष ६७ छन् भने यसपटक ८१ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए । काठमाडौँ २ मा ३७, चितवन ४ मा १२, बर्दिया १ मा १२ र कैलाली ६मा १५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

मतगणनाको परिणाम ९ असार बिहानसम्म आउने गरी तयारी गरिएको प्रमुख आयुक्त उप्रेतीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>