समाचारआइतबार, आषाढ ८, २०७१
मतदान जारी, भोटिङ् मसिनमा केहीबेर समस्या
‘सम्पूर्ण मतदान विद्युतीय मतदान, सबै मत सदर मत’ भनाइका साथ निर्वाचन आयोगले काठमाडौं, चितवन, बर्दिया र कैलालीका एक एकवटा क्षेत्रमा शुरु भएको मतदानमा विद्युतीय उपकरणद्वारा मतदान हुने व्यवस्था मिलाएको छ ।
काठमाडौँ क्षेत्र नं. २ मा मतदानका लागि बिहान सबेरैदेखि मतदाताहरू मतदान केन्द्रमा पुगेका थिए । मतदान केन्द्रमा पुग्नेहरूमध्ये महिला मतदाताको सङ्ख्या बढी देखिएको छ ।
भोटिङ मेसिनमा समस्या
विद्युतीय भोटिङ मेसिनमा प्राविधिक समस्या देखिएपछि कोटेश्वर महादेवस्थानस्थित सरस्वती माध्यमिक विद्यालय मतदानस्थलको घ केन्द्रमा मतदान प्रक्रिया केही बेर अवरुद्ध भएको थियो ।
मेसिनमा मतदाताले प्रयोग गरेको मतदानको रेकर्ड नआएर समस्या उत्पन्न भएको हो । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसहितको उच्चस्तरीय टोली केन्द्रमा आएर तत्कालै अर्को मेसिन ल्याएपछि मतदान प्रक्रिया डेढ घण्टापछि पुनः सुचारु भएको छ ।
चितवन–
चितवन क्षेत्र नम्बर ४ अन्तर्गतका मतदान केन्द्रहरूमा बिहान सबेरैदेखि मतदाताहरू लामबद्ध बसेका थिए । ७ बजेदेखि सबै ठाउँमा एकैसाथ मतदान प्रक्रिया अघि बढेको मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले बताएका छन् ।
दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला विजयी भएको सो क्षेत्रमा अहिले ११ राजनीतिक दल र एकजना स्वतन्त्र उम्मेदवार छन् ।
बर्दीया–
बर्दिया क्षेत्र नं. १ मा बिहान ७ बजेदेखि मतदान कार्य शुरु भएको छ । उपनिर्वाचनमा गृहमन्त्री वामदेव गौतम बर्दियाको देउडाकला–९ त्रिभुवन उच्चमावि ककौराबाट मतदान गरेका छन् ।
बिहान ५ बजे परेको अविरल वर्षाका कारण मतदानमा केही प्रभावित पारेको छ ।
बर्दिया क्षेत्र नम्बर १ मा कुल मतदाता सङ्ख्या ५८ हजार ४४३ रहेको छ भने मतदान केन्द्र ७८ वटा र मतदानस्थल ३७ वटा रहेका छन् ।
कैलाली–
कैलाली निर्वाचन क्षेत्र ६ मा संविधानसभाको उपनिर्वाचन उत्साहका साथ शान्तिपूर्ण वातवरणमा शुरु भएको छ ।
गएरातिदेखि बिहान ६:३० बजेसम्म भएको वर्षाले मतदान केन्द्रमा गरिएको व्यवस्थापनलाई सामान्य असर पुर्याएको भए पनि मतदान कार्य निर्धारित समय ७ बजेदेखि नै शुरु भएको मुख्य निर्वाचन अधिकृत यज्ञराज भट्टले बताए ।
बर्खे धानबालीका लागि खेतबारी खनजोतमा दिनभरि नै व्यस्त रहने गरेका कृषक मतदाताहरू आजको दिन भने काम रोकेर मतदान गर्न आएको बताउँछन् ।

