समाचारआइतबार, आषाढ ८, २०७१
८० लाख बराबरको अफिमसहित ६ पक्राउ
बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले रु.८० लाख मूल्य बराबरको अफिमसहित ६ जना पक्राउ गरेको हो । प्रहरी नायव उपरिक्षक जनकबहादुर शाहीका अनुसार भारत लैजान तयारी अवस्थामा राखिएको अफिमसहित ८ असार बिहान उनीहरुलाई पक्राउ गरिएको हो ।
बाँके, बासुदेवपुर–१ बाट २० किलो अफिमसहित रुकुम साख–४ का देविलाल गिरी, जितेन्द्र गिरी, वीरबहादुर खड्का, मोतिलाल ओली र खड्कबहादुर खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले बासुदेवपुर–१ घर भई जिल्ला कृषि विकास कार्यालय रुकुममा जेटीए रहेका शम्भुनाथ योगीको घरबाट अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो ।
योगीका घरमा कामदार रहेका फत्तेपुर–९ का लक्ष्मण चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको छ । भारतीय व्यापारीले अफिममा अग्रिम लगानी गरेर उतै लैजान लागेको अफिम फेला पारेको प्रहरीको दावी छ ।
प्रहरीले अफिम खेती र कारोबारमा संग्लनको सूची पनि तयार गरेको छ । पक्राउ परेका सबै जनाले भारतीय अफिम व्यापारी मुसा खानलाई अफिम पुर्याउन रु. ४० हजार लिएर भरियाको काम गरेको प्रहरीको भनाइ छ ।
“रुकुमबाट सात दिनको पैदलयात्रा गर्दै पाँच जना नेपालगन्ज पुगेको पाइयो,” प्रहरी नायव उपरिक्षक जनकबहादुर शाहीले भने, “४० हजारको लोभमा भरिया बन्दै भारतीय नाकासम्म छोड्न उनीहरू आएको बयानमा खुलेको छ ।”
तुफान न्यौपाने, नेपालगञ्ज

