समाचारआइतबार, आषाढ ८, २०७१
३ करोड फिरौती माग्ने अपहरणकारी पक्राउ
राष्ट्रिय वाणिज्य बैंक विराटनगर रानीका कर अधिकृत साहको अपहरण गरी रु.३ करोड फिरौती रकम माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी तनमुना–८ का हरेश चौधरी, सोनापुर–९ का अनिल चौधरी तथा भारत फार्विसगन्ज मझुवा बस्ने प्रदीप विश्वास र विहार नरपथगन्ज थाना बस्ने मनोज यादव छन् ।
उनीहरु सबैलाई सुनसरीको साहेबगन्जवाट पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए । २१ जेठमा कार्यालयबाट सुनसरीको दुहबी घर जाने क्रममा मोरङको टङ्कीसिनवारीबाट साह अपहरणमा परेका थिए ।
अपहृत चार्टर्ड एकाउन्टेन्ट साहलाई प्रहरीले ७ असार राति भारतीय सीमा जोडिएको सुनसरीको साहेबगन्जबाट अपहरणकारीबाट मुक्त गराउन सफल भएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।
रासस
