समाचारसोमबार, आषाढ ९, २०७१

हत्या अभियुक्तलाई ७६ वर्ष कैद

हिमालखबर

तुफान न्यौपाने, नेपालगञ्ज

हत्या अभियुक्त जियाउल सिद्धिकी । तस्वीरः तुफान न्यौपाने

बाँके जिल्ला अदालतले बालकद्वय कपिल द्विवेदी र लीलाधर भट्टका हत्या अभियुक्तलाई ७६ वर्षको कैद सुनाएको हो । जिल्ला न्यायाधीश हरिप्रताव केसीको इजलासले ४ असारमा अपहरणपछि हत्यामा संलग्न नेपालगञ्जका जियाउल सिद्धिकीलाई कैद सुनाएको हो ।

अदालतले द्विवेदीको अपहरण तथा शरीर बन्धकमा १५ वर्ष, सामूहिक रुपमा नाबालक अपहरणमा थप दुई/दुई वर्ष र कर्तव्य ज्यानमा २० वर्ष गरी ३९ वर्ष कैद सुनाएको छ । यस्तै, भट्टको अपहरण तथा शरीर बन्धकमा १५ वर्ष, सामूहिक रुपमा अपहरणमा थप दुई वर्ष र कर्तव्य ज्यानका २० वर्ष गरी अदालतले ३७ वर्ष सजाय सुनाएको छ ।

दुई छुट्टाछुट्टै मुद्दा भएकाले दुवै जोड्दा ७६ वर्ष कैद पुगेको श्रेस्तेदार आत्मदेव जोशीले जानकारी दिए ।

१४ असोज २०६७ मा स्कूले बालकको अपहरणपश्चात रु.१० लाख फिरौती लिएर हत्याको अभियोग लागेका अन्य १० जनालाई २९ मंसीर २०६९ मा तत्कालीन जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासले ७८ वर्षको कैद सजाय सुनाएको थियो । तर, सिद्धिकी लगायत उक्त मुद्दाका ६ अभियुक्त फरार थिए ।

फरार रहेका सिद्धिकी २ ग्राम लागूऔषध ब्राउन सुगरसहित १८ असार २०७० मा बसपार्कबाट पक्राउ परेका थिए । आफ्नो नाम वकिल दर्जी बताउँदै लागूऔषध कारोबारमा सक्रिय रहेका सिद्धिकीलाई उक्त मुद्दाको अनुसन्धान गर्ने क्रममा मात्र बालक अपहरण र कर्तव्य ज्यान मुद्दाको अभियुक्तसमेत रहेको थाहा भएको थियो ।

अदालतले पीडित परिवारलाई रु.५० हजार क्षतिपूर्ति भराउन र फिरौतीबापत लिएको रु.१० लाख दामासाहीले फिर्ता गर्न पनि आदेश दिएको छ ।

जिल्ला अदालतको अघिल्लो फैसलाले राजितराम कुर्मी, इब्राहिम मनियार, कैलाशकुमार गडरिया, रामसोभित कुर्मी, वर्षादी खाँ भन्ने नजिर खाँ, इन्साफ अलि शेख र रज्जब अलि साईलाई ७८ वर्ष कैद सजाय सुनाएको थियो भने मुख्य अभियुक्त मेराज अहमद साईलाई सर्वश्वसहित ७८ वर्ष कैदको सजाय सुनाएको थियो ।

अभियुक्तहरू सिपि सिंह भन्ने चन्द्रेश्वरप्रसाद सिंह, रामसुरेश कुर्मी, रघौ भन्ने रिजवान साई, शत्रुघन कुर्मी, कमलदिन गडरिया र मनोज बर्मा अझै फरार छन् । उनीहरू सबैलाई पक्राउ गर्न अदालतले वारेण्ट जारी गरिसकेको श्रेस्तेदार जोशीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>