रिपोर्टमंगलबार, आषाढ १०, २०७१
उत्कृष्ट १९ उच्च मावि
यद्यपि, नेपाल लगायतका धेरै देशमा यस्तै अन्तिम परीक्षाको आधारमा विद्यार्थीको मेधावीपन निर्क्योल गरिन्छ। उमावि (कलेज) हरुले पनि यसैलाई उत्कृष्टताको मापदण्ड मानेका छन्।
धेरै नम्बर ल्याउन योग्य बनाउने भन्दा जीवनमा उपयोगी हुने कुरा सिकाउने कलेजहरुलाई राम्रो मान्नुपर्ने धारणा पनि नभएको होइन, तर कतिपय कलेजले एसएलसीमा सर्वाधिक अंक ल्याएका विद्यार्थीलाई मात्र भर्ना लिन्छन् भने कतिले ३२ प्रतिशतलाई नै न्यूनतम योग्यता बनाएका छन्।
विद्यार्थीहरुले अन्तिम परीक्षामा ल्याएको अंक र उत्तीर्ण प्रतिशत नै स्तरीय शिक्षाको द्योतक हो भन्नेमा हामी सहमत छैनौं।
तथापि, तुलनात्मक रुपमा योभन्दा कम विवादित र बढी वैज्ञानिक अर्को पद्धति नभएकाले हामीले परीक्षाको नतीजालाई नै उमाविहरुको मूल्याङ्कनको आधार बनाएका हौं।
हामीले देशभरका साढे तीन हजार उमाविमध्येबाट ‘उत्कृष्ट १९’ छान्दा उच्च माध्यमिक शिक्षा परिषद्ले लिने कक्षा १२ को परीक्षामा कम्तीमा ३० विद्यार्थी सहभागी गराएर पछिल्लो पाँच वर्ष लगातार ८० प्रतिशतभन्दा बढी उत्तीर्ण गराएकाहरुलाई लिएका छौं।
चार वर्ष मात्रै लगातार ८० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराएका वा २९ जनाभन्दा कम विद्यार्थी राखेर पाँच वर्षभन्दा बढी ८० प्रतिशत उत्तीर्ण गराएका कलेजहरु यो सूचीमा परेका छैनन्। जस्तो, राजधानीको बूढानीलकण्ठ उमाविको उत्तीर्ण दर ८० प्रतिशत भन्दा बढी भए पनि विद्यार्थी संख्या ३० भन्दा कम भएकाले यसमा राख्न सकेनौं।
यहाँ शहरका सुविधासम्पन्न विद्यालय र दुर्गमका विद्यालयहरुलाई पनि समान मापदण्डको आधारमा सूचीकृत गरिएको छ। दाङ, कास्की र मोरङका उमाविहरू राजधानीका उमाविहरुसँग प्रतिस्पर्धामा आउनु सुखद् कुरा हो।
यसलाई मोफसलमा राम्रो पढाइ भएको प्रमाणको रुपमा लिन सकिन्छ। यस्ता उमाविहरूलाई पाँच वर्षको औसत नतीजाको आधारमा क्रमबद्ध गरिएको छ।
ललितपुरको मानभवनस्थित प्रसादी एकेडेमी यसपटक पनि उत्कृष्टमध्ये उत्कृष्ट हुन सफल भएको छ। विज्ञान र व्यवस्थापन विषय संचालन गरेको प्रसादीले विद्यार्थीलाई घोकाउने भन्दा पढ्न उत्प्रेरित गर्ने विधि अपनाएको छ।
उत्कृष्टको दोस्रो स्थानमा कास्कीको एसओएस हर्मन उमावि र तेस्रो पनि कास्कीकै गण्डकी बोर्डिङ उमावि परेका छन्।
गत वर्ष यो सूचीमा नपरेको काभ्रेको बनेपास्थित एसओएस हर्मन उमावि र काठमाडौंको बल्खुस्थित काठमाडौं वर्नहार्ट कलेज यस पटक उत्कृष्ट १९ मा सूचीकृत भएका छन्।



