समाचारबुधबार, आषाढ ११, २०७१
पर्सामा प्रहरीद्वारा ७ राउण्ड हवाई फायर
पर्साको जानकी टोला गाविसका पूर्व अध्यक्षका छोराले हेल्मेट नलगाएरै मोटरसाइकल चलाएकोमा प्रहरीले कार्वाही गर्न खोज्दा बढदै गएको विवादले उग्र रुप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर गरेको छ ।
गाविसका पूर्व अध्यक्ष कृष्ण्मोहन यादवका छोरा रंजन यादवले ११ असार बिहान हेल्मेट बिना नै मोटरसाइकल चलाएका थिए । उनलाई रोकेर स्थानीय प्रहरीले कार्वाही गर्न खोज्दा गाउँलेहरु जम्मा भई गाउँको सानो बजार ट्राफिक नियम लागु नहुने भन्दै प्रहरीको विरोध गरेका थिए । त्यसपछि बढ्दै गएको विवादले उग्र रुप लिएको स्थानीयले जनाएका छन् ।
चेकपोष्टमा खटिएको प्रहरीमाथि रंजन यादवले कुटपिट गरेको प्रहरीको दाबी छ भने स्थानीयले प्रहरीले यादवमाथि हातपात गरेको दाबी गरेका छन् । विवाद हुँदै जाँदा भेला भएका स्थानीयले प्रहरी चौकी नै घेरा हालेर प्रदर्शन गरेका थिए ।
झडपमा आसबारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सञ्जीव जयसवाल, हवल्दार विनय झा र जानकीटोला प्रहरी चौकीका हवल्दार जीवनाथ धित्ताल घाइते भएका छन् भने घाइते स्थानीयको नाम खुल्न सकेको छैन ।
स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय पोखरिया, सेढवा, पाडेपुर, आसबारी र आसपासका प्रहरी चौकीबाट ठूलो संख्यामा जानकीटोलामा प्रहरी परिचालन गरिएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
