समाचारबुधबार, आषाढ ११, २०७१

अरु दलको दृष्टिमा एमालेः महाधिवेशन सन्दर्भ

हिमालखबर

सूर्यचन्द्र बस्नेत/नारायण न्यौपाने

सिद्धान्त र नीतिका हिसाबले नवौं महाधिवेशनसम्म आइपुग्दा एमालेमा दुई विचार देखिएका छैनन् । आगामी महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेज सामूहिक छलफल र सहमतिका आधारमा तयार हुनुले सिद्धान्तमा होइन नेतृत्व कसले लिने भन्ने कुरामा मात्र विमति देखिएको पुष्टि गर्दछ ।

यसै सन्दर्भमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जीतेन्द्रदेव एमालेभित्र अहिले चलिरहेको बहस मुख्य रुपमा नेतृत्व हत्याउने र पार्टी कब्जा गर्ने नीतिसँग बढी केन्द्रित भएको देखिएको बताउँछन् । “एमाले कम्युनिस्ट पार्टी नभई सामाजिक लोकतान्त्रिक पार्टीको रुपमा रुपान्तरण भएको छ, उस्ले कम्युनिस्ट पार्टीको झन्डालाई टे«डमार्कको रुपमा प्रयोग गरिरहेको छ,” देवले भने ।

नेकपा संयुक्तका नेता गणेश शाहले एमाले कम्युनिस्ट आन्दोलनको मूल्य मान्यताबाट पछि हटेको र एमालेभित्र अहिले पदका लागि अस्वस्थ प्रतिस्पर्धा भइरहेको भन्दै यस्ले मुलुकको राजनीतिमा राम्रो सन्देश नदिने शाहको भनाई छ । “एमालेले संसद्लाई सर्वोपरि देख्न थालेको छ जुन कम्युनिस्ट विचारधारासँग मेल खाँदैन,” उनले भने ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट माक्र्सवादी आन्दोलनका व्यवहार, दर्शन र सिद्धान्त छोडेर विशुद्ध पुँजीवादी पार्टीको रुपमा एमाले परिवर्तन हुँदै गएको टिप्पणी गरे ।

उनले भने, “एकातिर हँसिया हथौडा चिह्न देखाउँदै हामी सर्वहारा, शोषित पीडितका पक्षधर हौं भनेर नारा दिइरहने अनि अर्काेतर्फ डन पाल्ने र मुलुकभर एनजिओ चलाउने पार्टी कसरी कम्युनिस्ट पार्टी बन्न सक्छ,” अध्यक्ष केसीको प्रश्न छ ।

पुँजीवादी पार्टीभित्र पद, सम्पत्ति र पैसाको होडबाजी हुन्छ, महाधिवेशनमार्फत त्यसलाई कसले बाजी मार्ने भन्ने रणनीतिको पूर्व अभ्यासको रुपमा नेतृत्वका लागि दुईपक्षबीच वाक युद्ध भएको अध्यक्ष केसीले टिप्पणी गरे ।

एमाओवादीका नेता राम कार्कीले नेकपा एमालेले कम्युनिस्टधारलाई छोडेर प्रजातान्त्रिक समाजवादतर्फ रुपान्तरणको प्रयासमा रहेको बताए ।

अन्तर्राष्ट्रिय समुदायलाई उदार प्रजातन्त्रमार्फत अघि बढ्ने विश्वास दिलाउने चेष्टा गरिरहेको बताउँदै उनले जनताको मतलाई आकर्षण गर्न मात्र कम्युनिस्टको ट्याग नछोडेको प्रतिक्रिया दिए ।

नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले नाममा कम्युनिस्ट भए पनि सिद्धान्त र व्यवहारमा एमाले बुर्जुवा पार्टी भएको आरोप लगाइन् । उनले भनिन्, “महाधिवेशनले एमालेलाई क्रान्तिकारी बनाओस् र बन्नुपर्ने आवश्यकता पनि छ,” ।

मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले नाममात्रको कम्युनिस्ट भएको जनाउँदै उस्ले कम्युनिस्ट सिद्धान्त र आदर्श छाडिसकेको प्रतिक्रिया दिए ।

“परम्परागत सोचको ह्याङओभरबाट उठेर परिवर्तित परिस्थितिलाई ध्यानमा राखेर सामाजिक लोकतान्त्रिक पार्टीका रुपमा एमाले रुपान्तरण हुनुपर्छ, एमालेभित्र नेतृत्व चलाउन सक्ने ओझेलमा परेका नयाँ पुस्ताका धेरै योग्य र सक्षम व्यक्तिलाई महाधिवेशनले अघि ल्याउन सक्नुपर्छ,” अध्यक्ष यादवले आफ्नो धारणा व्यक्त गरे ।

नेता राधाकृष्ण मैनालीले अरु राजनीतिक दलमा जस्तै एमालेमा पनि विचारको होइन, गुटको निर्माण भइरहेको दाबी गरे ।

एमालेभित्रको आन्तरिक प्रतिस्पर्धा र प्रजातान्त्रिक अभ्यास भने निकै सुदृढ रहेको धारणा व्यक्त गर्दै नेता मैनालीले भने, “पछिल्लो समय शहरबाट एमाले क्रमशः बढारिँदै गाउँतर्फ खुम्चन पुगेकाले यसको भविष्यप्रति प्रश्न उठिरहेको छ ।”

नेपाल प्राध्यापक सङ्घकी पूर्व अध्यक्ष सुप्रभा घिमिरेले एउटै पार्टी र खेमामा लामो समयसम्म सहकार्य गरेका नेताहरुबाट अध्यक्ष पद आफ्नो पक्षमा पार्न एकअर्काको मानमर्दन गर्दै योगदानको अबमूल्यन गरिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरिन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>