समाचारबिहीबार, आषाढ १२, २०७१
प्रधानमन्त्री कोइरालालाई क्यान्सर, रेडियोथेरापी गरिंदै
अमेरिकास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार न्युयोर्कको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरका चिकित्सकले प्रधानमन्त्री सुशील कोइरालालाई रेडियो थेरापी दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीसँगै गएका चिकित्सक करवीरनाथ योगीलाई उद्धृत गर्दै राष्ट्रसंघीय स्थायी प्रतिनिधिको कार्यालयले प्रधानमन्त्री कोइरालालाई रेडियोथेरापी दिनुपर्ने सुझाव दिएको जनाएको छ ।
कोइरालालाई क्रोनिक ब्रोन्काइटिस भएकाले तत्कालै फोक्सोको शल्यक्रिया गर्न नमिल्ने हुँदा रेडियाथेरापी दिन लागिएको विज्ञप्तिमा उल्लेख छ ।
उनको रेडियोथेरापी २६ जुन बिहानबाट शुरु हुनेछ।
८ वर्षअघि कोइरालालाई जिब्रोमा क्यान्सर भएपछि उक्त सेन्टरमै उपचार भएको थियो भने त्यसपछि प्रत्येक वर्ष परीक्षणका लागि कोइराला अमेरिका जाने गरेका थिए । पछिल्लो समय उनको फोक्सोमा दाग देखिएपछि चिकित्सकहरुले अमेरिका गएर परीक्षण गराउन सुझाव दिएका थिए ।

