समाचारबिहीबार, आषाढ १२, २०७१

वन अतिक्रमणकारीद्धारा कर्मचारीमाथि आक्रमण, तीन घाइते

हिमालखबर

तुफान न्यौपाने, नेपालगञ्ज

वन अतिक्रमणकारीको आक्रमणबाट तीन कर्मचारी घाइते भएका छन् । फत्तेपुर–८ मा सिद्धबाबा सामुदायिक वनमा भएको अतिक्रमण हटाउन गएका वन कर्मचारीलाई अतिक्रमणकारीले १२ असारमा आक्रमण गरेका हुन् ।

घरेलु हतियारले आक्रमण गर्दा जमदार भवेन्द्र गिरी र देवेन्द्र योगी तथा हवल्दार इन्द्रबहादुर घर्ती घाइते भएको सहायक वन अधिकृत गणेश खड्काले जानकारी दिए । घाइतेमध्ये घर्तीको टाउको फुटेको छ भने योगीको हात र घुँडामा तथा गिरीको डाढमा चोट लागेको छ । घाइते सबैको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ ।

फत्तेपुर–८ का राजकुमार बुढा, भुवनेश्वर चौधरी, श्री थारु, चन्द्रु थारु, तेजबहादुर थारु, जंगली थारु, बुद्धिराम चलाउने, पीताम्बर थारु, हरिप्रसाद थारु, जागु थारु र घुमिलाल थारुले वन क्षेत्र अतिक्रमण गरेका छन् । यीमध्ये भुवनेश्वर एम्बुलेन्स चालक हुन् ।

वन कर्मचारीबाट राइफल खोस्न थालेपछि तनावपूर्ण भएको स्थितिलाई नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गरिएको सहायक वन अधिकृत खड्काले बताए । सिद्धबाबा सामुदायिक वनको करीब ७ हेक्टर जमिन अतिक्रमण भएको छ ।

वन क्षेत्र अतिक्रमण गरी खनजोत गरेर मकै छर्ने र धान लगाउने तयारी गरेका बेला वनले अतिक्रमणकारीलाई हटाउन खोजेको थियो । अतिक्रमण रोक्न सामुदायिक वनका उपभोक्ताले प्रति घरधुरी २०० रुपैयाँ उठाएर तारबार गर्ने प्रयास थालेको उपभोक्ता समिति अध्यक्ष मोति बुढाथोकीले जानकारी दिए

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>