समाचारशुक्रबार, आषाढ १३, २०७१
आन्दोलनका कारण १० चौपाया मरे
पशु उपचार सेवा बन्द गरी भेटनरी प्राविधिकहरु आन्दोलनमा उत्रिएपछि उपचार नपाएर नवलपरासीका बिरामी पशुहरु मरेका छन् ।
पशु चौपायमा देखिएको रोगको उपचार हुन नसक्दा रोग संक्रमण बढेकाले किसानहरु चिन्तित छन् ।
विभिन्न ९ सुत्रिय माग राखेर आन्दोलनमा उत्रेको पशुस्वास्थ्यकर्मीहरुको संगठन नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसियसनमा आबद्ध प्राविधिकहरुले पशुको उपचार नगर्दा किसानहरु मर्कामा परेका हुन् ।
आफ्नो आन्दोलनको माग पुरा गराउन प्राविधिकले किसानमारा काम गरेको भन्दै किसानहरुले रोष प्रकट गरेका छन् ।
१० दिनदेखि जारी आन्दोलनका कारण सवैभन्दा बढी मुकुन्दपुरमा चार वटा गाई मरेका छन् । मुकुन्दपुर नेपाल मै उन्नतजातका गाईपालन हुने र सवैभन्दा बढी दुध उत्पादन हुने भनिएको गाविस हो ।
जिल्लामा १५२ जना पाराभेटनरी प्राविधिकहरुले कार्यालय सहित गाउं गाउंमा गएर पशु चौपायको सेवा दिदै आएकोमा आन्दोलन गरेर सेवा ठप्प पारेपछि किसानहरु मर्कामा परेका हुन् ।
विद्रोही गिरी, नवलपरासी
