थप समाचारआइतबार, आषाढ १५, २०७१
श्रीमतीको हत्या गरेर श्रीमान फरार
कास्कीको अधिकारीडाँडा ढिकुरपोखरीका विनोद केसीले अन्दाजी २८ वर्षीया श्रीमती विन्दु केसीको १४ असार राति हत्या गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्की डिएसपी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।
मृतक विन्दुको टाउकोमा चोट लागेको र अनुहार सुनिएको अवस्थामा घरमै शव फेला पर्नुका साथै पति फरार रहनुले पतिले नै हत्या गरी फरार भएको बास्तोलाले बताए ।
बास्तोलाका अनुसार १४ असार साँझ साढे ५ बजे विन्दु आफ्नै घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले मुचुल्का उठाई शवलाई पोष्ट मार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएको थियो ।
छिमेकीहरुले केसी पति–पत्नीबीच बेला बेलामा झगडा हुने गरेको र पति केसी उग्र स्वभावको भएको बताएका छन् ।
विनोदले ५ वर्षअघि प्रेमविवाह गरी कान्छी श्रीमतिका रुपमा विन्दुलाई भित्र्याएका थिए । उनीहरुका २ छोरी छन् ।
यसअघि जेठी श्रीमतीलाई शारीरिक र मानसिक यातना दिएको भन्दै केसी विरुद्ध प्रहरीमा उजुरी परेपछि सार्वजनिक अपराध मुद्दामा करिव २२ दिन थुनामा बसेर उनी छुटेको प्रहरीले बताएको छ ।
माधव बराल, पोखरा
