समाचारमंगलबार, आषाढ १७, २०७१
छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु
नयाँ अटोरिक्सा किनेपछि पाल्पाको सिद्धबाबा मन्दिरमा पूजा गर्न गएका बुटवल–६ का ३८ वर्षीय यादव रायमाझीको अटोरिक्सा दुर्घटनामा परेको हो । चालक रायमाझीले हामफालेर ज्यान जोगाएका छन् ।
दुर्घटनामा रिक्सामा सवार बुटवल–६ का ३६ वर्षीय पिताम्बर ज्ञवाली, ३५ वर्षीया हिरा आचार्य र बुटवल– १३ कि तारदेवी गाहाको मृत्यु भएको दोभान प्रहरी चौकी पाल्पाका प्रमुख धिरेन्द्र श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा घाईते गुल्मी घर भई बुटवल– ७ बस्ने ७ वर्षीय सुभास ज्ञवालीलाई उपचारका लागि चितवन लगिएको छ भने बुटवल–६ की ३४ वर्षीया भगवती रायमाझी र बुटवल–१३ की २१ वर्षीया मुना गाहाको अञ्चल अस्पताल बुटवलमै उपचार भैरहेको छ ।
अटोरिक्सा सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको छरछरे छहरा नजिकबाट ढेड सय मिटर तल तिनाउ नदिमा खसेको हो ।
रायमाझीले हिजो मात्रै नया अटो रिक्सा (मोटरसाईकलमा पछाडी दुई वटा पाङग्रा जोडेर बनाईएको ) किनेका थिए । आज दिउँसो आफन्त र छिमेकी बटुलेर रिक्सा पूजा गर्न मन्दिर आएका बेला उनी दुर्घटनामा परेका हुन् ।
घरमा पुरिएर दुईको मृत्यु
पोखरामा पुरानो घर भत्काउने क्रममा पुरिएर २ जना मजदुरको ज्यान गएको छ । घटनामा तीन जना मजदुर भागेर ज्यान जोगाउन सफल भएका छन् ।
पोखरा उप —महानगरपालिका वडा नं. ६ लेकसाईडस्थित गौरीघाटको दरबारमार्गमा रहेको गंगा लामिछानेको २ तले पुरानो घर भत्काउने क्रममा १७ असार दिउँसो पुरिएर पर्साको महादेव पट्टी ५ का ३५ वर्षीय हरीनन्द भण्डारी र सोही ठाउँका ३० वर्षीय मनोहर दासको मृत्यु भएको प्रहरीले बताएको छ ।
५ जना मजदुर मध्ये ३ जनाले भागेर ज्यान जोगाउन सफल भएका छन् ।
करेन्ट लागेर दुईको मृत्यु
कञ्चनपुरको दैजी–९ का राजकुमार रानाको १७ असार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।
खेतमा हलो जोत्ने क्रममा विद्युतीय पोलबाट प्रवाह भएको करेन्ट लागेर ३२ वर्षीय राजकुमारको मृत्यु भएको हो । उनको खेतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
त्यस्तै कैलालीमा नवनिर्मित भवनमा प्रयोग गरिएको काठ निकाल्दै गरेको अवस्थामा फागुराम चौधरीको मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाईते भएका ४५ वर्षीय चौधरीलाई रेडक्रसको नवनिर्मित भवनको छतमा प्रयोग गरिएका काठ निकाल्ने क्रममा करेन्ट लागेको हो ।
उनको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।
देब पचभैया/पाल्पा, माधव बराल/पोखरा, बच्चु बिक/महेन्द्रनगर
