समाचारबुधबार, आषाढ १८, २०७१

खनालको आग्रहमा नेता नेपालको प्यानल घोषणा रोकियो

हिमालखबर

नेकपा एमाले नवौं महाविधेशनका अध्यक्षका प्रत्यासी माधवकुमार नेपालको प्यानल घोषणा गर्ने कार्यक्रम थियो, १८ असार दिउँसो ३ बजे । त्यसका लागि सबै तयारी पूरा भएको थियो । प्यानल घोषणाकै लागि नेपाल पक्षीय सबै नेताहरु तोकिएको समयभित्रै राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादीमा पुगेका थिए ।

तर, कार्यक्रम ३ बजे शुरु भएन । कार्यक्रम संचालक योगेश भट्टराईले महिला प्रतिनिधिहरु अर्को कार्यक्रमबाट आउन समय लाग्ने भएकाले ढीला भएको बताइरहेका थिए ।

कार्यक्रम तोकिएको समयभन्दा एक घण्टा ढीला शुरु भयो । तर, सबै तयारी पूरा भएर पनि कार्यक्रममा प्यानल घोषणा भएन ।

एमालेका अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल समूहले १८ राजधानीमा आयोजना गरेको विशेष भेला । तस्वीरः देबकी बिष्ट

प्यानल घोषणा हुन नसक्नुको खास कारण भने अध्यक्षका प्रत्यासी एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो मन्तव्यको क्रममा बताए । “आजै प्यानल घोषणा गर्ने तयारी पूरा भएको थियो,” उनले भने, “तर, अध्यक्ष झलनाथ खनालले तत्काल प्यानल घोषणा नगर्न भनेपछि आज हुन सकेन ।”

“अध्यक्ष खनालले अझै केही सल्लाह गरौं भन्नुभएको छ,” नेता नेपालले भने । उनले अध्यक्ष खनालको समर्थन आफूलाई रहेको पनि दावी गरे ।

उनले भने, “केहीले अध्यक्ष खनालले समर्थन गरेको भन्ने गरेका छन्, तर यो गफाडीको गफ मात्र हो ।”

ओली पक्षप्रति इंगित गर्दै उनले महाधिवेशन प्रतिनिधिलाई धम्काउने, लोभ देखाउने कार्य भइरहेको पनि बताए । उनले भने, “तपाईंहरुलाई कसैले धम्काएमा खबर गर्नोस, ती धम्काउनेहरु लोभ देखाउनेहरु टिक्न सक्दैनन् ।”

खनालको पासमा नेपालले गोल गर्छन्ः भट्टराई

एमाले नेता योगेश भट्टराईले अध्यक्ष झलनाथ खनालको समर्थन आफूहरुलाई रहेको दावी गरे । नेता नेपाल पक्षीय विशेष भेलाको कार्यक्रम संचालन गरेका उनले भने, “अध्यक्ष खनालको पासमा नेता नेपालले गोल गर्नेछन् ।”

“खेल शुरु भइसकेको छ, हाफ टाइम भएपछि अध्यक्ष खनालले नेता नेपाललाई पास दिनेछन् र गोल हुनेछ,” उनले भने, “अध्यक्ष खनालपछिका कप्तान नेपाल हुन् ।”

ओली–वामदेव अपवित्र गठबन्धनः श्रेष्ठ

एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले केपी ओली र वामदेव गौतमबीचको गठबन्धन अपवित्र भएको टिप्पणी गरेका छन् । उनले गौतमलाई सुरासुन्दरीसँग जोडेर टिप्पणी गर्ने ईश्वर पोखरेल र वामदेवलाई एक नम्बरको भ्रष्टाचारी बताउने प्रदीप नेपालसँग नै अहिले वामदेवको सहकार्य हुनु र माओवादीलाई हेर्ने विपरित दृष्टिकोण भएका ओली र गौतमबीच भएको गठबन्धन अपवित्र भएको बताए ।

उनले पार्टीलाई गतिशिल बनाउन नेता नेपालको नेतृत्व आवश्यक भएको बताए । उनले ओलीलाई विश्राम दिएर सम्मानजनक स्थानमा राख्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>