समाचारबिहीबार, आषाढ १९, २०७१

एमालेलाई एक ढिक्का बनाउने शीर्ष नेताको भनाई

हिमालखबर

नेकपा एमालेको जारी अधिवेशनमा एमाले शीर्ष नेताहरुले जनताको हित हुने गरी अािर्थक सामाजिक रुपान्तरणमा पार्टीलाई राष्ट्रिय राजनीतिको मूलधार बनाउने बताएका छन् ।

नेताहरूबीच समूहगत चुनावी प्रतिस्पर्धा र प्रचार देखिएका बेला उद्घाटनका सत्रमा भने उनीहरुले पार्टी एकताबद्ध र सुदृढ हुने जनाएर प्रतिनिधिलाई पनि त्यही भूमिका निर्वाह गर्न आग्रह गरे ।

अध्यक्ष झलनाथ खनालले एकताबद्ध राजीतिक दस्तावेज प्रस्तुत हुने महाधिवेशन ऐतिहासिक हुने जनाउँदै पार्टीलाई वैचारिक र राजनीतिक रुपमा एकढिक्का बनाउने दाबी गरे । कम्युनिस्ट आन्दोलनको इतिहासमा एमाले निरन्तर लोकतन्त्र र परिवर्तनका निम्ति लडिरहने पार्टीका रुपमा स्थापित भएकाले अब यसको प्रतिस्पर्धामा कुनै पार्टी आउन नसक्ने ठोकुवा गरे ।

खनालले पार्टी एक ढिक्का भएन भने क्रान्तिका उपलब्धिलाई जोगाएर लान नसक्ने भन्दै थपे, “महाधिवेशनले यस कार्यधारलाई बुझेर जबजको मार्गनिर्दिशमा समाजवादको भविष्यतर्फ दृढ भएर अघि बढ्नका लागि पार्टीमा एकताको विकल्प छैन ।”

प्रतिस्पर्धाबाट तर्सिनु हुँदैन:नेपाल

वरिष्ठ नेता माधवकुमार नेपालले पुँजीवादी क्रान्ति र पार्टीको नवनिर्माणका लागि नवौंँ महाधिवेशन ऐतिहासिक हुने बताए ।

एमाले पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीले देखाएको बाटामा निरन्तर अघि बढ्नुपर्ने बताउँदै जनताका पीडालाई ध्यानमा राखेर जनताको अधिकारका पक्षमा दृढतापूर्वक क्रियाशील हुन उनले आह्वान गरे ।

महाधिवेशनले एकताबद्ध सन्देश दिने बताएका नेपालले प्रतिस्पर्धाबाट तर्सन नहुने पनि धारणा व्यक्त गरे । उनले सबै नेताको उचित व्यवस्थापन गर्दै सबै नेताको सम्मानसहित पार्टीको गतिशीलतालाई ध्यानमा राख्नुपर्नेमा जोड दिए ।

एमालेले मुलुकको अगुवाइ गर्छ:ओली

नेता केपी शर्मा ओलीले नवाँैं महाधिवेशन भव्यताका साथ अनुकूल निर्णयका साथ औचित्यपूर्ण र न्यायपूर्ण एकताका आधारमा अघि बढ्ने बताए ।

उनले मुलुक राजनीतिक आर्थिक सङ्क्रमणकालमा रहेको अवस्थामा जबजको मान्यताका आधारमा मुलुकको शान्तिपूर्ण रुपान्तरणमा एमालेले अगुवाइ गर्ने दाबी गरे ।

“पहिलो संविधानसभा असफल हुनाको कारण खोजेर उग्रपन्थी, दक्षिणपन्थी र यथास्थितिवादीका स्वार्थलाई पूरा हुन नदिई मौलिक र राष्ट्रिय दृष्टिकोण बोकेको एमालेको भूमिकाले मात्रै मुलुक सुहाउँदो संविधान दिएर परिवर्तनलाई संस्थागत गर्न सक्छ,” ओलीले भने ।

दिउँसो २ बजे शुरु भएको उद्घाटनसत्र साँझ ८ बजेसम्म चलेको थियो ।

जोलीमाथि आक्रमणको निन्दा

महाधिवेशनको उद्घाटनमा शुभकामना दिएर बाहिरिने क्रममा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीलाई भृकुटीमण्डपको मूल प्रवेशद्वारमा केही व्यक्तिले अभद्र व्यवहार गरेका छन् ।

उद्घाटनसत्रमा भित्र प्रवेश नपाएका एमालेका केही कार्यकर्ताको आक्रोशका क्रममा भएको सो घटना निन्दनीय भएको बताउँदै एमालेका महासचिव ईश्वर पोखरेलले उद्घाटन सत्रमा खेद व्यक्त गरे । उनले दोषीमाथि कारबाहीको माग गरेका थिए ।

कार्यक्रममा सहभागी भएर फर्कने क्रममा जोली माथि केही व्यक्तिले पानीको बोत्तलले प्रहार गरेका थिए । यद्दपी जोलीलाई चोट भने नलागेको बताइएको छ ।

मनोनितबिना नै उद्घाटन

महाधिवेशनमा मनोनयन हुने एक सय ११ प्रतिनिधिबिना नै उद्घाटनसत्र सम्पन्न भएको छ । बिहान बसेको स्थायी कमिटीको बैठकमा सहमति जुट्न नसकेपछि आज राति र शुक्रबारसम्ममा निर्णय गरेर मात्रै बन्दसत्र सुरु हुनेछ ।

मनोनयन र प्रतिनिधि व्यवस्थापनका अन्य कार्य पूरा गरी शुक्रबार अपराह्न १ बजेमात्रै बन्दसत्र प्रारम्भ हुनेछ । बन्दसत्र भृकुटीमण्डपमै हुनेछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>