समाचारशुक्रबार, आषाढ २०, २०७१

सौतेनीआमा अपहरण गराउने छोरीसहित ६ पक्राउ

हिमालखबर

विराटनगर घरभई हाल गठ्ठाघर बस्दै आएकी ममता घिमिरे धमलालाई गठ्ठाघरबाटै अपहरण गर्न लागेका दुई जनालाई प्रहरीले घटनास्थलबाटै १५ असारमा पक्राउ गरेको थियो भने अन्यलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

प्रहरी वृत्त थिमीका प्रहरी नायव उपरीक्षक भीमकिरण बोगटीका अनुसार पक्राउ पर्नेमा नुवाकोट लिखु–८ घरभई हाल गोंगबु बस्दै आएका २२ वर्षीय सुरेश गुरुङ र नुवाकोट समुद्रदेवी–८ का शेषमान तामाङ छन् । उनीहरूलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेपछि सौतनी आमालाई चाहबिल र अष्ट्रेलिया बस्दै आएका दुई छोरीसहितले मार्ने योजना बनाएको रहस्य खुलेको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिए ।

प्रहरीले चाहबिल बस्दै आएकी १७ वर्षीया ऋचा धमला, उनकै प्रेमी काभ्रे खहरेपाङ्गो–२ का आशमान लामा, घटनामा संलग्न रहेका काठमाडाँै ठमेल बस्दै आएका सुशील नापित र नुवाकोट सिक्रे घरभई ठमेल बस्दै आएका राजेश गुरुङलाई पनि पक्राउ गरेको छ ।

घटना विवरणअनुसार ९ जेठ २०६५ मा दिदीबहिनी लीजा धमला र ऋचा धमलाकी आमा अम्बिका धमलालाई चाहबिलस्थित घरमा आफनै बाबु मुरारी धमलाले आगो लगाएर हत्या गरेको रिस फेर्न सौतेनी आमालाई मार्ने योजना बनाएको रहस्य खुलेको हो ।

आमाको हत्या गरेपछि बाबु मुरारी जेलमा छन् भने ऋचा आफन्तसँग बस्दै आएकी थिइन् ।

अष्ट्रेलिया बस्दै आएकी लीजा तीन महिनाअघि नेपाल आएपछि ऋचा र आशमानसहितले अपहरण गरी हत्या गर्ने योजना बनाएका थिए । हत्याका लागि खर्च हुने रु १५ लाखमध्ये अष्ट्रेलियाबाट लीजा र ऋचाले खर्च गर्ने अपुग रकम आशमानले खर्च गर्नेगरी योजना बनाएको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।

योजनाअनुसार आशमानका साथी सुशील र राजेशले अपहरणका लागि रु १५ लाख धमला दिदीबहिनीसँग लिने र रु तीन लाख खर्च गरेर हत्या गर्न अर्को योजना बनाएका थिए ।

शर्तअनुसार अपहरण गरेर लगेपछि घाँटी थिचेर हत्या गर्ने योजनाका साथ मोटरसाइकलमा आएका सुरेश र शेषमानलाई प्रहरीले गठ्ठाघरबाट अपहरणको प्रयास गर्दागर्दै पक्राउ गरेको थियो । पक्राउ परेका ६ जनालाई नै प्रहरीले अपहरण गरी ज्यान मार्ने उद्योग र सङ्गठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिए ।

अष्ट्रेलियामा रहेकी लीजालाई भने नेपाल झिकाउने प्रहरीले प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>