समाचारशुक्रबार, आषाढ २०, २०७१
सभासदको ध्यान आर्थिक चलखेलमाः कमल थापा
सभासदलाई संविधान निर्माण गर्न जनताले चुनेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले सभासदहरु विकासका नाममा भ्रष्टाचार गर्न लालायित भएको आरोप लगाएका छन् । “सांसदहरूले आफ्नो जिम्मेवारी वहन गर्नुका साटो पाँच करोडको माग गर्नुले संविधानलाई भन्दा आर्थिक चलखेलतर्फ ध्यान दिएको प्रष्ट हुन्छ,” थापाले भने ।
हेटौंडामा २० असारमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सभासादहरुलाई गलत कार्यतर्फ दलका उच्च नेताहरुले नै उक्साएको भन्दै थपे, “पैसाको पछाडि दगुर्न थाले सभासदको पदीय मर्यादा नै रहँदैन ।”
सबै राजनितिक दलहरु दलीय स्वार्थ भन्दा माथि उठेर संविधान निर्माणमा लागे मात्रै संविधान जारी हुने उनको भनाई छ ।
नेपाली कांग्रेस, एमाले र एमाओवादी जस्ता ठूला दलहरु नै गुटगत स्वार्थमा अल्झिएको टिप्पणी गर्दै अध्यक्ष थापाले एक कदम पछि हटेर भएपनि देश र जनताको बारेमा सोच्नुपर्ने बेला आईसकेको बताएका थिए ।
