समाचारशुक्रबार, आषाढ २०, २०७१
वैधानिक अध्यक्ष आफू भएको भन्दै चन्दद्वारा आयोगमा निवेदन दर्ता
रत्नपार्कस्थित शान्तिबाटिकाबाट नारा जुलुससहित राप्रपा नेता चन्दको नेतृत्वमा २० असारमा निर्वाचन आयोग पुगेको टोलीले गतवर्ष पार्टीको एकताको महाधिवेशनमा पार्टीको चक्रिय प्रणालीअनुसार आफू पार्टीको आधिकारीक अध्यक्ष भएको भन्दै आयोगको कानूनी शाखामा निवेदन दर्ता गराएको छ ।
चन्दले गतवर्ष भएको पार्टीको एकताको महाधिवेशनबाट एक–एक वर्ष आलोपालो गरी पार्टीको नेतृत्व गर्ने भनेर विधानमा नै उल्लेख गरिएअनुसार पहिलो वर्ष सूर्यबहादुर थापा, त्यसपछि क्रमशः लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर राणा र डा प्रकाशचन्द्र लोहनीले पार्टीको नेतृत्व गर्ने सहमति भएको बताए ।
उनले एकताको महाधिवेशनमा भएको सहमतिअनुसार आफू अध्यक्ष भएको र पशुपतिशम्शेर राणासहितको अर्को टोलीले लिखित सहमति नभएको भन्ने आरोप गलत भएको स्पष्ट पारे ।
राप्रपाका नेता डा प्रकाशचन्द्र लोहनीले महाधिवेशनको सहमति पालना गरेर जानुपर्ने भन्दै आधिकारीकरुपमा पार्टीका अध्यक्ष चन्द नै भएको र पार्टी एकबद्ध भएर अघि बढनुपर्नेमा जोड दिए ।
निर्वाचन आयोगका कानून महाशाखा प्रमुख लीलादेवी गड्तौलाले राप्रपाका अध्यक्ष चन्दले बुझाएको निवेदन दर्ता गर्दै राप्रपाकोे विधानअनुसार छिट्टै निर्णय गरिने बताएकी छन् ।
राप्रपाका निर्वतमान अध्यक्ष सूर्यबहादुर थापाले पार्टीबाट अवकाश लिएपछि त्यसको भोलिपल्टै पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले आफू पार्टी अध्यक्ष भएको घोषणा गरेका थिए भने थापा निकट मानिएका पशुपतिशम्शेर राणाले आफू पार्टी अध्यक्ष भएको घोषणा गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी एकता भएपनि त्यहाँ सहमति भएका कुराहरू नमिल्दा अहिले दुबैले आफू अध्यक्ष भएको दाबी गर्दै आएका छन् ।
