समाचारशुक्रबार, आषाढ २०, २०७१
एमाले महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश
एमाले अध्यक्ष खनालले राजधानीमा जारी महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । केन्द्रीय कमिटीले सर्वसम्मतिले पारित गरेको प्रतिवेदन २० असारमा पेश भएको हो ।
अध्यक्ष खनालले प्रतिवेदन २१ असार बिहान ९ बजेदेखि शुरु हुने बन्दसत्रमा व्याख्यासहित प्रस्तुत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । प्रतिवेदनमा राजनीतिक क्रान्तिको नेतृत्व गर्ने कार्य पूरा भएकाले अब आर्थिक समृद्धि हासिल गर्न देशलाई अगाडि बढाउने नेताका रूपमा पार्टीलाई विकास गर्न जोड दिइएको छ ।
प्रतिवेदनमा भनिएको छ, “पार्टीका सामु राष्ट्रिय हित र जनताको सुख–समृद्धिलाई केन्द्र भागमा राख्दै सामन्ती अवशेषलाई समाप्त पार्ने, प्रगतिशील उत्पादकशक्तिको तीब्रताका साथ विकास गर्ने, आर्थिक विकासलाई केन्द्रविन्दुमा राखेर राष्ट्रलाई अघि बढाउने र मुलुकलाई समुन्नति तथा समृद्धिको दिशातिर छिटो–छिटो अग्रसर गराउने कार्यभार छन् ।”
प्रतिवेदनमा जबजलाई मार्गदर्शक सिद्धान्तको रुपमा अवलम्बन गरिएकाले त्यसअनुसार समाजवाद लोकतान्त्रिक विधिभित्रै रहेर निर्माण हुने तथा समाजवादको पनि राजनीतिक व्यवस्था आधारभूत रुपले लोकतान्त्रिक गणतन्त्र नै हुने उल्लेख छ ।
“लोकतान्त्रिक गणतन्त्रलाई स्वच्छन्द पुँजीवादको विकासतर्फ अगाडि बढाउन चाहने बुर्जुवावर्ग र लोकतान्त्रिक गणतन्त्रको आर्थिक–सामाजिक तथा साँस्कृतिक ढाँचा विकास गर्दै समाजवादतर्फ जाने श्रमजीवीवर्गबीचमा अन्तरविरोध चर्किँदै गई समाजवादसम्मको ढोका खुलेको छ,” प्रतिवेदनमा उल्लेखछ ।
तोडफोडबारे छानबीन
एमालेले नवौं महाधिवेशनको उदघाटन समारोह चलिरहेको बेला बाहिर तोडफोड र नाराबाजीमा संलग्नबारे छानबीन गर्ने भएको छ । स्थायी कमिटीले तोडफोडबारे छानबीन गर्ने निर्णय गरेको बन्दसत्रमा अध्यक्षमण्डलकी अध्यक्ष विद्यादेवी भण्डारीले जानकारी दिइन् ।
बन्द सत्रमा एक प्रकाशनका विषयमा उत्पन्न विवादमा अध्यक्षमण्डलले अबदेखि त्यस्ता गतिविधि हुन नदिने गरी सोह्रबुँदे आचारसंहिता जारी भएपछि विवाद अन्त्य भएको थियो । अध्यक्ष मण्डलका सदस्य भीम रावलले बन्दसत्रमा पार्टीका आधिकारिक दस्तावेजमा लेखिएका विषय बाहेक अन्य विषयलाई औपचारिक छलफलको विषय नबनाउने, त्यस्ता सामग्री बन्दसत्रमा वितरण नहुने, वितरण गरेमा औपचारिक जानकारीको विषय नबनाउने तथा प्रकाशनलाई च्यात्ने काम पनि कसैले नगर्ने गरी आचारसंहिता जारी गरिएको बताएपछि विवादको अन्त्य भएको हो ।
१६ बुँदे आचारसंहिता जारी
बन्दसत्रमा सबै प्रतिनिधिले पालना गर्नुपर्ने सोह्रबुँदे आचारसंहिताअनुसार अध्यक्षमण्डलको अनुमति नलिई कुनै पनि सामग्री, पुस्तक, पर्चा या पत्रिका सभाकक्ष र सभाकक्षको परिसरमा बाँड्न पाइने छैन भने बाँडिएको भेटिएमा त्यस्तो सामग्री जफत हुनेछ ।
सबै प्रतिनिधि बन्दसत्रमा अनुशासित र मर्यादितरूपमा बस्नुपर्ने, बन्दसत्रका सम्पूर्ण कामकारबाही सफल पार्न भूमिका खेल्नुपर्ने, तोकिएको समयभित्रै अधिवेशनकक्षमा प्रवेश गर्ने र कार्यक्रम सकिएपछि मात्रै अधिवेशनस्थलबाट बाहिरिनुपर्ने उल्लेख छ । यस्तै, अधिवेशन चलिरहेको बेला होहल्ला गर्ने, कानेखुसी गर्ने, समूह–समूह भएर कुराकानी गर्ने र अधिवेशनको काम कारबाहीमा बाधा अवरोध गर्ने काम गर्न नहुने, अधिवेशनमा कुनै पनि नेताको पक्ष या विपक्षमा हल्ला गर्ने र नाराबाजी गर्ने काम गर्न नहुने उल्लेख छ ।
अध्यक्षमण्डलको अनुमति नलिई हल बाहिर जान नपाइने, बन्दसत्र चलिरहेको बेला मोबाइल टेलिफोन ‘स्विच अफ’ वा ‘साइलेन्ट मोड’मा राख्नुपर्ने छ । बन्दसत्र चलिरहेको बेला मोबाइलमा कुरा गर्न नपाइने, बन्दसत्रभित्र धूपपान, मद्यपान या सूर्तीजन्य पदार्थको प्रयोग गर्न नपाइने, सबै प्रतिनिधिहले प्रतिनिधि कार्ड देखिने गरी लगाउनुपर्ने, सभाकक्षमा प्रतिनिधि तथा तोकिएका स्वयंसेवकबाहेक अरुले प्रवेश गर्न पाउने छैनन् ।
कुनै पनि प्रतिनिधिले वातावरणलाई अनावश्यक रूपले उत्तेजित बनाउने र बन्दसत्रलाई असहज बनाउने काम गर्नमा पनि रोक लगाइएको छ । आफ्ना कुरा राख्दा कुनै जाति, भाषा, धर्म, लिङ्ग, समुदाय र क्षेत्र तथा व्यक्तिप्रति अमर्यादित भाषा प्रयोग गर्न नपाइने तथा सञ्चालन प्रक्रियाको सम्बन्धमा अध्यक्षमण्डलको निर्णय अन्तिम हुनेलगायत बुँदा आचारसंहिता छन् ।
रासस

