थप समाचारसोमबार, आषाढ २३, २०७१
फेसबुकमार्फत् धम्काउने तीन जना पक्राउ
फेसबुक र फोनमार्फत् धम्काउने उत्तरी प्युठानका तीन युवकलाई साइवर अपराधअन्तर्गत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान लुङ–६ वाहानेका हीराबहादुर बुढा, विक्रम बुढा र खवाङ–८ का एकान्त झाँक्री छन् ।
साइबर अपराधसँगै उनीहरुमाथि फोनमार्फत नराम्रो शब्द प्रयोग गरी धम्काएको उजुरी पनि परेको छ । उनीहरुले दाङ घोराईस्थित गौरीशङ्कर ओभरसिज प्रालिका यादव सैघाँलीको श्रीमतीलाई लगातार धम्काएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठान र दाङले संयुक्त पहलमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान जारी राखिएको दाङका प्रहरी नायव उपरीक्षक ओम रानाले बताए ।
फेसबुकमार्फत धम्काउने तथा सैघाँली श्रीमतीको फेसबुकमा अश्लील फोटो राखेको आरोप उनीहरुमाथि लागेको छ । प्युठानका प्रहरी नायब उपरीक्षक दीपक रेग्मीले पक्राउ परेकाहरु फोन काण्डमा संलग्न रहेको पुष्टी भए पनि फेसबुककाण्डका बारेमा अनुसन्धान जारी रहेको बताए ।
रासस
