समाचारसोमबार, आषाढ २३, २०७१
पेट्रोलियम चोरीमा संलग्न निगमका प्रबन्धक पक्राउ
आपसी मिलेमतोमा पेट्रोलियम पदार्थ चोरी गरेको अभियोगमा अख्तियारले आयल निगमका क्षेत्रीय प्रबन्धकसहित तीन जनालाई हिरासतमा लिएको हो । अख्तियारले २३ असारमा हिरासतमा लिएकामा भलबारी डिपोका क्षेत्रीय प्रबन्धक नागेन्द्रकुमार कुर्मी, प्रबन्धक दीपेन्द्र बस्नेत र सहायक प्रबन्धक रविनकुमार राउत छन् ।
निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलबारी डिपोका कर्मचारी समेतको मिलेमतोमा इन्डियन आयल कर्पोरेशन (आईओसी) बेतालपुर डिपोबाट पेट्रोलियम पदार्थ ल्याउने क्रममा चोरी भएको अख्तियारको ठहर छ ।
अख्तियारले अहिलेसम्म प्राप्त प्रमाणबाट पेट्रोलियम पदार्थ चोरीमा डिपोका अधिकारीहरुकै संलग्नता रहेको पाइएको जनाएको छ । अख्तियारले भनेको छ, “प्राप्त प्रमाणबाट निगमलाई हानि नोक्सानी पुर्याउने काममा संलग्नहरुबाट धरौटी माग गरिएकामा धरौटी बुझाउन नसक्दा हिरासतमा लिइएको छ ।”
उनीहरुमाथि अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ ।
