समाचारमंगलबार, आषाढ २४, २०७१
सरुवा अनुमोदन कसरी हुँदो रहेछ, म पनि हेरौंः मन्त्री पण्डित
२४ असारमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सम्बन्धित मन्त्रीको प्रस्तावमामात्रै कर्मचारीको सरुवाको निर्णय हुने ब्यवस्था रहेको स्पष्ट पार्दै आफू अनुपस्थित रहेको बैठकले अर्थमन्त्रीको प्रस्तावमा सामान्य प्रशासनका सह–सचिव भरतराज सुवेदीको सरुवा गर्नु गैरकानूनी भएको बताएका छन् ।
“मैले पीआर र ग्रिनकार्ड लिएका कर्मचारीलाई कारवाही गर्छु भन्दा भन्दै मेरो अनुपस्थितिमा सुवेदीलाई अर्थमा सरुवा गरिएछ,” मन्त्री पण्डितले भने, “सामान्यको प्रस्ताव बिना कसरी अनुमोदन हुँदो रहेछ म पनि हेरौं ।”
उनले आफूलाई ‘बाइपास’ गरेर अर्थमन्त्री महतबाट प्रस्ताव गएको जानकारी पाएको भन्दै यस्को सम्पूर्ण जिम्मेवारी प्रस्ताव लैजाने मन्त्री र मन्त्री परिषदको अध्यक्षता गरेका कार्यबाहक प्रधानमन्त्री बामदेब गौतमले लिनु पर्ने बताए ।
“म महाधिवेशनको बन्दसत्रमा भएको वेला निर्णय गर्नुभएछ, अब त्यसको जवाफदेहिता त उहाँहरुले नै लिनुपर्छ,” पण्डितले भने ।
पण्डितले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्र सेवक कर्मचारीहरुको तलब बढाउने प्रस्ताव सम्बन्धित मन्त्रालयबाट आए त्यसलाई अनुमोदन गरेर पठाउने स्पष्ट पार्दै राष्ट्रसेवक कर्मचारीहरुको तलब बृद्धि आवश्यक रहेकोमा जोड दिए ।
उनले एमालेको नवौ महाधिवेशनबाट क्रियाशिल ब्यक्तित्वको रुपमा माधवकुमार नेपालको नेतृत्व आवश्यक रहेकोमा जोड दिदै आफू पनि सम्भावित उपाध्यक्षको दावेदार भएको बताएका थिए ।
