थप समाचारबुधबार, आषाढ २५, २०७१
ओमान पुगेका ६ नेपालीको उद्धार
रोजगारीका लागि ओमान पुगेर अलपत्र परेका वृजमोहन लोध (रुपन्देही), याचकबहादुर मगर (मोरङ), रामगणेश लोध (रुपन्हेदी), भगौतीप्रसाद चमार (रुपन्देही), पाटीराम ठाकुर (महोत्तरी) र दिनेश महरा (धनुषा) लाई ओमानको मस्कटमा रहेको नेपाली राजदूतावासले उद्धार गरी नेपाल फर्काएको छ ।
रोजगारीको सिलसिलामा सात÷आठ महिनाअघि मस्हारेफ अल खल्दिया ट्रेडिङ एन्ड कन्ट्रयाक्टिङ कम्पनीमा काम गर्न गएका उनीहरुले जीउ ज्यानको जोखिम रहेको भन्दै मौखिक रुपमा राजदूतावासमा निवेदन दिएका थिए ।
प्रायोजक कम्पनीले तलब नदिएको, खाना तथा बासको राम्रो प्रबन्ध नभएको, स्वास्थ्य उपचारको व्यवस्था नभएको साथै राहदानी तथा परिचयपत्र पनि नदिएको उनीहरुले बताएका छन् ।
राजदूतावासबाट प्रायोजकलाई पटकपटक सम्पर्क गरी काम गरेको तलब दिन र बस्ने, खाने तथा औषधोपचारको बन्दोबस्त गर्न अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको र हालको ४५-५० डिग्रीको तापक्रममा राम्रो बस्ने खाने व्यवस्था नहुँदा जीउ ज्यान जोखिममा पर्ने सम्भावना रहेकाले २३ असारमा उनीहरुलाई राजदूतावासमा ल्याई उद्धार गरिएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।
नेपालबाट काममा पठाउने मेनपावर कम्पनीले ६ जनाकै मस्कटदेखि काठमाडौँसम्मको हवाई टिकट उपलब्ध गराएको थियो ।
रासस
