समाचारबुधबार, आषाढ २५, २०७१
प्रधानमन्त्री सुशील कोइरालालाई चौथोपटक रेडियोथेरापी
फोक्सोमा क्यान्सर देखिएपछि उपचारका लागि अमेरिका पुगेका प्रधानमन्त्री सुशील कोइरालालाई चौथो पटकको रेडियो थेरापी मंगलबार दिइएको छ । चिकित्सकहरुले पहिलो चरणमा पाँच पटक रेडियो थेरापी दिनुपर्ने बताए अनुसार अब बुधबार अन्तिम रेडियो थेरापी दिइने छ ।
प्रधानमन्त्री कोइारालासँगै रहेकी आफन्त मृदुला कोइरालाका अनुसार पाँचौ पटकको रेडियो थेरापीपछि केही दिन अस्पतालकै सम्पर्कमा रहेपछि कोइराला स्वदेश फर्कनेछन् । थप रेडियो थेरापी गर्नुपर्ने भएमा र चिकित्सकले स्वीकृति दिएमा भारत वा नेपाल जहाँ उचित हुन्छ त्यहीं गर्ने कोइरालाको योजना छ ।
रेडियो थेरापीपछि प्रधानमन्त्री कोइरालाले असहज महशुस नगरेको र उनको अन्य स्वास्थ्य अवस्था सामान्य रहेको मृदुलाले बताएकी छन् । लामो समयको विदेश बसाईले सरकारका कामकारवाहीमा ढिलाई हुन पुगेको भन्दै कोइरालाले चिन्ता व्यक्त गरेका छन् ।
यसैबीच कोइरालालाई भेट्न अभिनेत्री मनिषा कोइराला पनि अस्पताल पुगेकी छन् ।
कोइरालालाई लामो समयदेखि ‘ब्रोङ्काइटिस’ भएका कारण शल्यक्रिया नगरी रेडियोथेरापी विधि अपनाएर उपचार गरिन लागेको हो ।
कोइराला स्वास्थ्योपचारका लागि २२ असारमा अमेरिका प्रस्थान गरेका थिए ।

