समाचारबुधबार, आषाढ २५, २०७१

एमाले महाधिवेशन: संशोधित विधान पारित

हिमालखबर

नेकपा एमाले महाधिवेशनको बन्द सत्रले पारित गरेको संशोधित विधानअनुसार केन्द्रीय कमिटी १ सय ५९ सदस्यीय हुने भएको छ ।

विधान संशोधन प्रस्ताव पारित भए पनि दलित समुदायले असन्तुष्टि जनाउँदै नाराबाजी गरेका छन् ।
सांगठनिक प्रस्ताव पारित नभइसके पनि केन्द्रीय सदस्य १५९ सदस्यीय बनाउने सहमति भएको एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए।

१५९ सदस्यीय केन्द्रीय कमिटीमा १५० जनाको लागि निर्वाचन हुनेछ। निवर्तमान अध्यक्ष वरिष्ठ नेताका रूपमा स्वतः केन्द्रीय सदस्य हुनेछन्। केन्द्रीय कमिटीमा १०३ जना पूर्ण सदस्य र बाँकी वैकल्पिक सदस्य हुनेछन्।

पदाधिकारी सहित कुल १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीमा महिलालाई २२ केन्द्रीय सदस्य आरक्षण गरिएको छ । जसमा १५ पूर्ण र ७ बैकल्पिक हुनेछन् ।

यसैगरी आदिवासी जनजातितर्फ १० पूर्ण र ४ बैकल्पिकसहित १४ जनालाई आरक्षण गरिएको छ । मधेशीलाई ६ पूर्ण र ४ वैकल्पिकसहित १० तथा दलितलाई ४ पूर्ण र ३ बैकल्पिक केन्द्रीय सदस्यमा आरक्षणको व्यवस्था गरिएको छ ।

मुस्लिमलाई २ र पिछडिएको क्षेत्रलाई २ केन्द्रीय सदस्य आरक्षण गरिएको छ ।

संशोधित विधान अनुसार ४६ जना केन्द्रीय सदस्य खुलातर्फबाट निर्वाचित हुनेछन भने ९ जना बैकल्पिक हुनेछन् ।

यसैगरी उपत्यका र १४ अञ्चलवाट खुल्ला १५ र बैकल्पिक १५ गरी ३० सदस्य निर्वाचित हुनेछन् ।

श्रमिक तथा पेशागत क्षेत्रबाट ४ पूर्ण र चार बैकल्पिक केन्द्रीय सदस्य आरक्षण गरिएको छ ।

निर्वाचनसम्बन्धी निर्देशिका, निर्वाचन कार्यक्रम, मतदाता नामावली प्रकाशनलगायत कार्यपछि २६ असार दिउँसोसम्म उम्मेदवारको मनोनयन सकेर साँझबाट मतदान शुरु गर्ने तयारी गरेको ज्ञवालीले जानकारी दिए ।

————————————————————————————————————————————
एमाले महाधिवेशन लम्बिने

नेकपा एमालेको जारी महाधिवेशनमा प्रस्तुत विधान संशोधनको प्रस्ताव पारित नहुँदा निर्वाचन प्रक्रिया प्रारम्भ हुन ढिलाइ भएको छ ।

बुधबार , २५ असार २०७१ ६:०२ पम

एमालेको काठमाडौंमा जारी महाधिवेशनको बन्द सत्रमा विधान संशोधनको प्रस्ताव पारित नहुँदा २४ असारमा सम्पन्न हुने भनिएको महाधिवेशन लम्बिने भएको छ ।

सङ्गठन विभागका प्रमुख युवराज ज्ञवालीले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावमा पदाधिकारीको सङ्ख्या बढाएर १४ सदस्यीय बनाउने उल्लेख थियो । सो प्रस्तावमा समूहगत छलफलका क्रममा अधिकांश प्रतिनिधिले सङ्ख्या घटाउन सुझाव दिएपछि परिमार्जित विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने तयारी भइरहेको छ ।

विधान पारित नभएसम्म नयाँ नेतृत्वका लागि मनोनयन कार्य प्रारम्भ हुन सक्दैन । विधान पारित भएपछि अध्यक्षका प्रत्याशी माधवकुमार नेपाल र केपी शर्मा ओलीका तर्फबाट समूहगत उम्मेदवारीका लागि पनि केही समय माग्नेछन् ।

पूर्व घोषित कार्यक्रमअनुसार आजबाट महाधिवेशन सकिनुपर्नेमा निर्वाचनको प्रक्रिया प्रारम्भ नभएकाले अझै केही दिन लम्बिन सक्ने एमाले प्रचार विभागका प्रमुख प्रदिप ज्ञवालीले बताए ।

विद्युतीय मतदान गर्ने पूर्व निर्णयमा विवाद आएपछि मतपत्रबाट मतदान गर्ने पछिल्लो निर्णयले पनि समय लम्बिने भएको हो ।

सहमतिका साथ संशोधन प्रस्ताव पेश गर्न अध्यक्ष मण्डलले स्टेरिङ कमिटीलाई जिम्मा दिएपछि १४ सदस्यीय पदाधिकारीमा समावेशी कोटा समावेश हुने गरी अध्यक्ष १, महिला उपाध्यक्ष १, जनजाति उपाध्यक्ष १, मधेसी उपाध्यक्ष १, खुल्ला उपाध्यक्ष २, महासचिव १, उपमहासचिव २, सचिव खुल्ला ५ हुने गरी प्रस्ताव तयार गरिएको छ ।

सो प्रस्तावलाई स्थायी कमिटीमा छलफल गरेर बन्द सत्रमा प्रस्तुत गर्ने तयारी भइरहेको छ । विधानमा नेतृत्वमा रहनेको उमेर हदको पनि व्यवस्था गरिएको छ ।

एमाले नेता रघुजी पन्तले विधान संशोधनबारे आवश्यक गृहकार्य भइरहेको बताए । बन्द सत्रले अन्य प्रतिवेदन भने पारित गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>