समाचारबिहीबार, आषाढ २६, २०७१
अर्जेन्टिना पेनाल्टी शुटआउटमा नेदरल्याण्ड्सलाई हराउँदै फाइनलमा
ब्राजिलमा जारी विश्वकप फुटबलको दोस्रो एवम् अन्तिम सेमिफाइनलमा अर्जेन्टिनाले पेनाल्टी शुटआउटमा नेदरल्याण्ड्सलाई पराजित गर्दै फाइनलमा जर्मनीसँगको भिडन्त पक्का गरेको छ ।
अतिरिक्त समयमा समेत दुवैपक्षले गोल गर्न नसकेपछि पेनाल्टी शुटआउटबाट निर्णय गरिएको हो । अर्जेन्टिनाको जीतमा गोलरक्षक सर्जियो रोमेरोको प्रमुख योगदान रह्यो । उनले नेदरल्याण्ड्सका खेलाडी स्नाइडर र व्लारको किक रोकेका थिए ।
खेलअवधिभर अर्जेन्टिनीले अपेक्षा गरेजस्तो लियोनल मेसीले कुनै जादु देखाउन सकेनन् भने नेदरल्याण्ड्सका स्ट्राइकर आर्जेन रोबेनले पनि प्रशंसकको अपेक्षा पूरा गर्न सकेनन् । दुबै टोलीले पाएका गोलका अवसरहरु सदुपयोग गर्न सकेका थिएनन् ।
पेनाल्टी शुटआउटमा अर्जेन्टिनी गोल रक्षक रोमेरोले शुरुमा नेदरल्याण्ड्सका व्लारले हानेको किक रोकर आफ्नो टोलीको मनोबल बढाए । त्यसलगत्तै अर्जेन्टिनाका लियोनेल मेसीले हानेको प्रहार गोलमा परिणत भयो ।
अर्जेन्टिनाका तर्फबाट मेसी, इजेक्वेल ग्यारे, सर्जियो अग्वेरो र म्याक्सी रोड्रिग्वेजले गरेको पेनाल्टी प्रहार गोलमा परिणत भयो भने अर्जेन्टिनाका आर्जेन रोबेन र डि क्विटले हानेको पेनाल्टीले मात्रै जाली चुम्न पायो । व्लार र स्नाइडरको किकलाई अर्जेन्टिनी गोलरक्षकले रोकेर टोलीलाई फाइनलको यात्रामा लगेका छन् ।
