समाचारशुक्रबार, आषाढ २७, २०७१
‘हाइटेक’ महाधिवेशनमा कांग्रेस सभासदको चासो
कांग्रेसका सभासद्हरु ओखलढुङ्गाका रामहरि खतिवडा र सिन्धुपाल्चोकका मोहनबहादुर बस्नेतले एमालेको महाधिवेशनस्थलमा मतदान शुरु हुनुभन्दा केही बेरअघि भृकृटीमण्डप पुगेका थिए ।
निर्वाचनको कडा सुरक्षा व्यवस्थाका कारण उनीहरुलाई मतदान केन्द्रसम्म जान नदिइए पनि मतदानस्थलको मूल प्रवेश र आसपासका क्षेत्रमा उनीहरुले एमालेका नेता र कार्यकर्तासँग भलाकुसारी गरेका थिए ।
सभासद् खतिवडाले एमालेको महाधिवेशन ‘हाइटेक’ र व्यवस्थित भनिएको तथा दुई समूहबीच कडा प्रतिस्पर्धा भइरहेको चर्चाले अधिवेशनस्थल सम्म आएको बताए ।
“सहकर्मी पार्टीका यस्ता ठूला कार्यक्रमबाट हामीले केही सिक्नुपर्ने विषय छन् भनेर आएका हौं, खतिवडाले भने, “तर मलाई कांग्रेस र एमाले सरकारमा सँगै हुँदा पनि नभएको कटुता एमालेभित्रैका दुई समूहमा देख्दा दुख लाग्यो ।”
उनले माधवकुमार नेपाल र केपी ओलीका दुई अलग अलग समूहमा विभाजित भएर कार्यकताले प्रचारप्रसार र नाराबाजी गरिरहेको दृश्य रमाइलो नलागेको बताए ।
काग्रेसका सभासद्हरुले एमाले अधिवेशनमा रुची लिनु सकारात्मक र सद्भावपूर्ण भएको एमालेका सभासद् रामेश्वर फुयाँलले बताए । “यसलाई मैले सद्भावनायुक्त राजनीतिक संस्कारका रुपमा लिएको छु, हामी पनि अरु पार्टीका गतिविधि यसरी नै हेर्न जान सक्छौँ,”फुयाँलले भने ।
१९ असारदेखि शुरु भएको एमाले महाधिवेशनमा २७ असार राति मतदान सकिएपछि २८ असार बिहानदेखि मतगणना हुने कार्यक्रम छ ।
रासस
