समाचारशनिबार, आषाढ २८, २०७१
रातभर मतदान, गणना अपराह्नदेखि
एमालेमा नेतृत्व चयनका लागि २७ असार साँझ शुरु भएको मतदान राति २ः४५ बजे सम्पन्न भएको छ । निर्वाचन आयोगका पदाधिकारी र उम्मेदवारको सल्लाहमा २८ असार अपराह्नबाट मतगणना गर्ने निर्णय गरिएको छ ।
पहिला पदाधिकारीबाट प्रारम्भ गरिने मतगणना राष्ट्रिय सभागृह वा दशरथ रङ्गशालाको कभर्डहलमध्ये कुन स्थानमा गर्ने भन्ने विषयमा बिहान ११ बजे उम्मेदवार र आयोगबीचको छलफलपछि निधो गरिने भएको छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलका अनुसार मतदानमा दुई हजार १५२ जना प्रतिनिधिले भाग लिएका थिए । कूल दुई हजार १७६ प्रतिनिधि रहेको एमालेमा २४ प्रतिनिधि अनुपस्थित देखिएका छन् ।
महाधिवेशन लम्बिएका कारण ती प्रतिनिधि आफ्नो गृह जिल्ला फर्केको बुझिएको छ । एक सय ५९ सदस्यीय केन्द्रीय कमिटीका लागि माधवकुमार नेपाल र केपी शर्मा ओली समूहले समूहगत प्रतिस्पर्धा गरेका थिए ।
यस्तै केन्द्रीय निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासान आयोगका पदाधिकारीको पनि निर्वाचन एकैसाथ गरिएको थियो ।
अध्यक्षमा नेपाल र ओलीबीच कडा प्रतिस्पर्धा देखिएको छ भने अन्य पदमा मिश्रित परिणाम आउने अनुमान गरिएको छ ।
रासस

