समाचारआइतबार, आषाढ २९, २०७१
विश्वकपमा भिज्दै पूर्वराजादेखि राजनीतिज्ञसम्म
ब्राजिलमा फुटबलको महाकुम्भ उत्कर्षमा पुग्दा उपाधि कसले जित्ला भन्ने उत्सुकता विश्वभर छ। जर्मनी र अर्जेन्टिनाबीच आइतबार राति फाइनल भिडन्त हुँदैछ।
विश्वकप फाइनलले पूर्वराजादेखि राजनीतिक दलका नेता, मन्त्री, कर्मचारी र सर्वसाधारणसम्मलाई तानेको छ। फाइनल हेर्न सबैले आआफ्नै योजना बनाएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह नातिनातिनीसँग बसेर फाइनल हेर्ने तयारीमा छन्। उनले आफ्नै निवासमा नातिनातिनीसँग बसेर सेमिफाइनलदेखि नै विश्वकप हेरिरहेको जानकारी सहयोगी डा. फणीराज पाठकले दिए।
क्रिकेटका समेत पारखी ज्ञानेन्द्रले आईपीएल क्रिकेट पनि हेरेको पाठकले बताए।
कार्यवाहक प्रधानमन्त्री वामदेव गौतम पनि फाइनल खेलको व्यग्र प्रतीक्षामा छन्। ‘फुटबल मेरो मन पर्ने खेल हो। एमाले महाधिवेशनले कतिपय खेल हेर्न पाइनँ।
तेस्रो स्थानका लागि हुने ब्राजिल र नेदरल्यान्ड्सको खेल तथा अर्जेन्टिना र जर्मनीबीचको फाइनल खेल जसरी पनि हेर्छु’, उनले भने, ‘म अर्जेन्टिनाको समर्थक हुँ। अर्जेन्टिनाको खेल्ने शैली उत्कृष्ट छ। उपाधि पनि उसैले लगोस्, मेरो शुभेक्षा छ।’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि फाइनलमा अर्जेन्टिनाकै समर्थन गरेका छन्। राम्रा खेल नछुटाएका दाहाल ब्राजिलका कट्टर समर्थक थिए।
सेमिफाइनलमा ब्राजिल जर्मनीसँग हारेपछि फाइनलमा अर्जेन्टिना उनको रोजाइमा परेको हो। उनले फाइनल खेल घरमै बसेर हेर्ने उनका स्वकीय सचिव चूडामणि खड्काले बताए।
एमाओवादी नेता डा. बाबुराम भट्टराईले चे ग्वेभारा जन्मेको देश अर्जेन्टिना र कार्ल माक्र्स जन्मेको देश जर्मनीबीच हुने विश्वकप फुटबलको फाइनल खेल रोमाञ्चक हुने बताए।
‘अर्जेन्टिनाका चे ग्वेभारा मेरा आदर्श हुन्, जो मेरो हृदयमा छन्। कार्ल माक्र्स मेरो मस्तिष्कमा छन्। फाइनलमा उपाधि जसले जिते पनि मलाई फरक पर्दैन।
अर्जेन्टिनाले जिते मेरो हृदय खुसी हुनेछ। जर्मनीले जिते मस्तिष्क प्रफुल्ल बन्नेछ’, भट्टराईले भने। उनले पनि घरमै बसेर फाइनल हेर्ने भएका छन्।
सभामुख सुवास नेम्बाङ पनि अर्जेन्टिनाकै समर्थक रहेछन्। कुनै समय फुटबलका खेलाडीसमेत रहेका उनलाई फुटबल निकै मन पर्छ रे। ‘यसपटक नकआउट चरणका सबै खेल हेरें। समूहगत चरणका राम्रा खेल पनि छुटाइनँ।
फाइनल खेल परिवारसँगै बसेर हेर्छु। मलाई उपाधि अर्जेन्टिनाले जितोस् भन्ने लागेको छ’, उनले भने, ‘मेसी मेरा मन पर्ने खेलाडी हुन्। मेसीले खेल्ने वार्सिलोनाको पनि म फ्यान हुँ। गोल्डेन बुट पनि मेसीले जितून् भन्ने मेरो चाहना छ।’
कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल पनि फाइनल खेलको प्रतीक्षामा छन्। जर्मनीका समर्थक रामचन्द्रले परिवारसँग बसेर फाइनल हेर्ने योजना बनाएका छन्।
‘मलाई युरोपेली फुटबल राम्रो लाग्छ। उनीहरूको खेल्ने तरिका उत्कृष्ट छ। उपाधि पनि जर्मनीले लैजाओस् भन्ने शुभेक्षा राख्छु’, उनले भने।
सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको चाहना पनि अर्जेन्टिनाले विश्वकप जितोस् भन्ने छ। राम्रा खेल नछुटाएका उनले सुरुमा ब्राजिल र इटालीको समर्थन गरेका थिए।
‘इटाली समूहगत चरणबाट बाहिरिँदा खल्लो भयो। ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग नराम्रो हार खेप्दा साह्रै दु:ख लाग्यो’, उनले भने, ‘फाइनलमा मेरो सर्मथन अर्जेन्टिनालाई रहन्छ। खेल घरमै बसेर हेर्छु।’
गोविन्द रेग्मी, अन्नपूर्ण पोष्ट दैनिकबाट साभार
