समाचारसोमबार, आषाढ ३०, २०७१

व्यापारी दम्पती हत्याका अभियुक्त जेल चलान

हिमालखबर

हनुमाननगर–५ का व्यापारी प्रमेसुख बेगवानी र सरोजदेवी बेगवानीको बेगवानीको हत्याका आरोपी सुनसरीको श्रीपुर–८ का मो. हैदर अली मियाँ र हरिपुर–७ का मो. कैजुम मियाँलाई जिल्ला अदालतले राजविराज कारागारमा थुनामा पठाएको छ ।

जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले हत्याका आरोपित मियाँद्वयलाई पुर्पक्षका लागि थुनामा पठाउने र हत्याराहरुले लुटेको सुनचाँदीका गरगहना किन्ने सुबोध स्वर्णकारलाई रु १० लाख धरौटी बुझाउन आदेश गरेको छ ।

अदालतको आदेशबमोजिम रु १० लाख धरौटी बुझाउन नसकेपछि सुनसरीको इनरुवा नपा–१ घर भई लौकही गाविस–६ मा पुष्पाञ्जली ज्वेलर्स पसल गर्ने स्वर्णकारलाई पनि कारागारमा थुनामा पठाइएको स्रेस्तेदार नवराज दुलालले बताए ।

हनुमाननगर गाविस–५ स्थित बजारमा रहेको पसलसँगैको घरमा गत २१ जेठ राति बेगवानी दम्पतीको हत्या भएको थियो । हत्याराले बेगवानी दम्पतीको हत्या गरी रु ७७ लाख ६२ हजार ४९९ बराबरको सुनचाँदीका गरगहना र नगद रु १० हजार धनमाल डकैती गरेका थिए ।

हत्याराबाट स्वर्णकारले रु १५ लाख ८५ हजार ८६० बराबरको चाँदी र रु सात लाख ३० हजार ६०१ बराबरको सुन ४० प्रतिशत नाफा राखी रु रु १७ लाख २५ हजारमा खरिद गरेको प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।

मृतकका छोरा मुकेश बेगवानीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले गत २३ जेठमा कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको थियो ।

हत्याका आरोपीमध्ये मियाँद्वयलाई दुई थान अनटेस्ट मोटरसाइकल, एक थान नलकटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित प्रहरीले सुनसरी जिल्लाको कोसी कटान क्षेत्रबाट गत २९ जेठमा र स्वर्णकारलाई सप्तरीको नकटी रायपुर गाविस–८ रुपनीबाट गत ४ असारमा पक्राउ गरेको थियो ।

हत्याको आरोपमा संलग्न सुनसरी हरीपुर–७ भण्टाबारीका २३ वर्षीय सलिम भनिने अल्लाउद्दिन मियाँ, श्रीपुर–७ खुरयाईका २४ वर्षीय साबिर मियाँ, श्रीपुर–७ भण्टाबारीका २५ वर्षीय इनरदेव कामत, सप्तरीको भारदह बस्ने ३५ वर्षीय बब्लु मण्डललगायतका आरोपित फरार छन् । फरार आरोपीका नाममा अदालतले २९ असारमा नै वारेन्टसहितको म्यादी पुर्जी जारी गरेको छ ।

सप्तरीमा व्यापारी दम्पतीको हत्या

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>