समाचारमंगलबार, आषाढ ३१, २०७१
एमाले अध्यक्षमा केपी ओली निर्वाचित
नेकपा एमालेको नवौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा केपी शर्मा ओलीले १०४७ मत प्राप्त गरी विजयी भएका छन् । अध्यक्ष पदका अर्का प्रत्यासी माधवकुमार नेपालले १००३ मत प्राप्त गरे ।
उपाध्यक्षमा वामदेव गौतम, भीम रावल, विद्या भण्डारी, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका छन् । रावल, ज्ञवाली र शाक्य नेपाल समूहका हुन् भने गौतम र भण्डारी ओली समूहका हुन् ।
त्यसैगरी महासचिवमा १०३६ मत ल्याएर इश्वर पोखरेल (ओली समूह) निर्वाचित भएका छन् । पोखरेलका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले १०३० मत प्राप्त गरे ।
उपमहासचिवमा विष्णु पौडेल (ओली समूह) र घनश्याम भुसाल (नेपाल समूह) निर्वाचित भएका छन् ।
सचिवमा प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य निर्वाचित भएका छन् । विष्ट, भट्टराई र आचार्य नेपाल समूहका हुन् भने ज्ञवाली र गुरुङ ओली समूहका हुन् ।
केपी ओली
२०२२ सालदेखि कम्यूनिष्ट राजनीति शुरु गरेका केपी शर्मा ओलीको जन्म ११ फागुन २००७ मा झापामा भएको हो । २०२८ सालको झापा बिद्रोहको नेतृत्व गर्ने नेताहरु मध्ये एक ओलीले १४ बर्ष जेल जीवन बिताएका छन् ।
प्रमाणपत्र तहसम्मको अध्ययन गरेका ओली २०४८ सालको संसदीय चुनावमा झापा–६ बाट पहिलो पटक निर्वाचित भएका थिए ।
२०५१ र २०५६ मा पनि झापा–६ बाटै निर्वाचित भएका उनी २०५१ सालमा एमालेको अल्पमतको सरकारमा गृहमन्त्री भए ।
२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा झापा–७ बाट पराजित भए पनि त्यसपछि २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने ओली विजयी भए ।
२०४९ सालमा नेकपा एमालेको स्थायी कमिटी सदस्य भएका उनी २०६३ मा उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए ।
एमालेको बुटवल अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका ओली त्यसबेला निवर्तमान अध्यक्ष झलनाथ खनालसँग पराजित भएका थिए ।
हाल उनी एमाले संसदीय दलको नेतासमेत हुन् ।
प्राप्त मत:
| पद | ओली समूह | मत | मत | नेपाल समूह |
| अध्यक्ष | केपी ओली | १०४७ (निर्वाचित) | १००३ | माधव नेपाल |
| उपाध्यक्ष(५ जना) | वामदेव गौतम | ११२४ (निर्वाचित) | ११४३ (निर्वाचित) | भीम रावल |
| विद्या भण्डारी | ११०० (निर्वाचित) | १०६२ (निर्वाचित) | युवराज ज्ञवाली | |
| प्रदीप नेपाल | १००८ | १०४७ (निर्वाचित) | अष्टलक्ष्मी शाक्य | |
| धर्मनाथ साह | ९२३ | ९९८ | लालबावु पण्डित | |
| किरण गुरुङ | ९९५ | १०३१ | राजेन्द्रप्रसाद पाण्डे | |
| महासचिव | ईश्वर पोखरेल | १०३६ (निर्वाचित) | १०३० | सुरेन्द्र पाण्डे |
| उपमहासचिव(२ जना) | विष्णु पौडेल | १०८२ (निर्वाचित) | १०९७ (निर्वाचित) | घनश्याम भुसाल |
| शंकर पोखरेल | १०३७ | ९६९ | रघुजी पन्त | |
| सचिव(५ जना) | प्रदीप ज्ञवाली | ११५५ (निर्वाचित) | १२७० (निर्वाचित) | गोकर्ण विष्ट |
| पृथ्वी सुब्बागुरुङ | १०२९ (निर्वाचित) | १०८५ (निर्वाचित) | योगेश भट्टराई | |
| विष्णु रिमाल | ९९७ | १०३५ (निर्वाचित) | भीम आचार्य | |
| रघुवीर महासेठ | ९२८ | १०१५ | पर्शुमेघी गुरुङ | |
| केशवलाल श्रेष्ठ | ९२२ | ९९७ | बेदुराम भुसाल |
