समाचारबुधबार, आषाढ ३२, २०७१

पार्टीको अभिभारा र चुनौती मेरो काँधमा छः ओली

हिमालखबर

मत परिणाम घोषणा भएपछि रमाउँदै एमाले कार्यकर्ता । तस्वीर: आनन्दराम डंगोल

अध्यक्षमा विजयी घोषित भएपछि आफ्नो निवास बालकोटमा पत्रकारसँग कुरा गर्दै केपी ओलीले पार्टीमा देखिएका बेथितिलाई अन्त्य गरी सबैलाई मिलाएर पार्टी चलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेता ओलीले भने, “पार्टीको अभिभारा र चुनौती मेरो काँधमा आएको छ, सबै पक्षलाई समेटेर जिम्मेवारीपूर्वक पार्टी सञ्चालन गर्छु ।”

उनले निर्वाचनमा आउने परिणामका बारेमा पहिलो नै आँकलन भएकाले त्यहीअनुरूप नेताहरूसँग सहमतिको प्रस्ताव राख्दा कुरा नमिलेपछि प्रतिस्पर्धामा उत्रिनुपरेको भन्दै यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताए ।

अध्यक्ष ओलीले जनताको बहुदलीय जनबाद (जबज) को सिद्धान्तअनुसार नै पार्टीलाई अगाडि बढाइने र आफूले पद विशेषलाई भन्दा पनि देश र जनताको उन्नतिका लागि काम गर्ने उल्लेख गरे ।

उनले मुलुकको विकासका लागि एमालेको नयाँ नेतृत्वले विचार र व्यवहारमा नै एकताबद्ध भएर गतिशील तरिकाले पार्टी सञ्चालन गर्ने दाबी गरे ।

अध्यक्षमा विजयी भएपछि ओलीको निवासमा एमालेका नेता–कार्यकर्ताको शुभकामना र बधाइ दिनेको घुइँचो लागेको छ ।

उनलाई धेरै दौडधूप गर्न नहुने भएकाले निवासमा जाने सबैले भेट्न पाएका छैनन् । ओलीलगायत पदाधिकारीलाई आज केन्द्रीय निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गर्नेछ । त्यसपछि मात्रै उनले पदभार ग्रहण गर्ने छन् ।

झापा विद्रोहदेखि अध्यक्षसम्म

२०२२ सालदेखि कम्यूनिष्ट राजनीति शुरु गरेका केपी शर्मा २०२८ सालको झापा बिद्रोहको नेतृत्व गर्ने नेताहरु मध्ये एक हुन् । उनले १४ बर्ष जेल जीवन बिताएका छन् ।

एमालेमा तेस्रो वरियातामा रहेका ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै पहिलो पटक पार्टीको प्रमुख नेतृत्वमा पुगेका छन् ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको प्रवक्ताका रुपमा आफूलाई दाबी गर्ने ओलीलाई पार्टीमा सबै पक्ष र विचारका नेतालाई समेटेर लाने चुनौती छ ।

तत्कालका लागि एक वर्षभित्र लोकतान्त्रिक संविधान जारी गर्न र सरकारबाट सुशासन र आर्थिक सुधारका कार्यक्रममार्फत जनतालाई गणतन्त्र प्राप्तिको उपलब्धिको अनुभूति दिलाई आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउने दायित्य पनि नयाँ नेतृत्वको छ ।

पार्टीमा नेतृत्व हस्तान्तरण र एक पद एक व्यक्तिको विषय उठाउँदै आएका नेता ओली एमाले संसदीय दलका नेता पनि हुन ।

समूहगत आधारमा निर्वाचन भएकाले पदाधिकारीमा दूवै समूहका सात सात जना विजयी हुनाले एमालेका कार्यकर्ताले पार्टीलाई सन्तुलित नेतृत्व प्रणालीमा मतदान गरेको देखिएको छ ।

ओली एमालेको गत आठौंँ महाधिवेशनमा निवर्तमान अध्यक्ष झलनाथ खनालसँग पराजित भएका थिए । त्यसबेला ओलीलाई नेता नेपालले समर्थन गरेका थिए ।

११ फागुन २००७ मा झापामा जन्मिएका ओली पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत भइसकेका छन् । ओलीको वाक्कटुता र टुक्का भन्ने शैली चर्चित छ ।

प्रमाणपत्र तहसम्मको अध्ययन गरेका ओली २०४८ सालको संसदीय चुनावमा झापा–६ बाट पहिलो पटक निर्वाचित भएका थिए ।

२०५१ र २०५६ मा पनि झापा–६ बाटै निर्वाचित भएका उनी २०५१ सालमा एमालेको अल्पमतको सरकारमा गृहमन्त्री भए ।

२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा झापा–७ बाट पराजित भए पनि त्यसपछि २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने ओली विजयी भए ।

२०४९ सालमा नेकपा एमालेको स्थायी कमिटी सदस्य भएका उनी २०६३ मा उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए ।


पार्टी थप एकताबद्ध हुन्छः खनाल

दशरथ रङ्गशालामा मत परिणाम घोषित भएपछि बाहिरिने क्रममा एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनालले परिणामलाई आफूले उचित ठानेको र अब पार्टीलाई थप एकताबद्ध बनाएर लाने भूमिका निर्वाह गर्ने बताएका छन् ।

उनले मत परिणामले एमालेलाई थप एकताबद्ध र मजबुत बनाएर लैजाने विश्वास व्यक्त गरे ।

निर्वाचनले धाँजा फाटेका पार्टीभित्रका मनलाई जोड्न समन्वयको भूमिका आफूले निर्वाह गर्ने उनले बताए ।

यही असार १९ गतेदेखि काठमाडौंँमा शुरु भएको एमालेको महाधिवेशनमा २६ असारमामतदान भई २८ गतेदेखि गणना प्रारम्भ भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>