थप समाचारबिहीबार, साउन १, २०७१

न्यायको पर्खाइमा बलात्कृत

हिमालखबर

-देबकी बिष्ट, काठमाडौं

तस्वीरः देबकी बिष्ट

बैतडीकी शर्मिला (नाम परिवर्तन) ले कोरियाको मुजु शहरमा २०–२५ असारमा आयोजित आठौं विश्व तेक्वान्दो कल्चरल एक्स्पो–२०१४ मा स्वर्ण पदक जितिन्। विश्वका २५ देश सहभागी तेक्वान्दो कल्चरल एक्स्पोमा नेपालको तर्फबाट पहिलो पटक यौनजन्य हिंसा पीडित सात बालबालिकाले स्पर्धा गरेका थिए। उनीहरू सबै गैर–सरकारी संस्था रक्षा नेपालमा अश्रित छन्।

भारतकी आवन्ती घोषलाई हराउँदै नेपालका लागि स्वर्ण जित्दा पनि उदास देखिने शर्मिला यही वर्ष प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण हुँदा पनि खासै रमाउन सकिनन्। कारण हो– पुनरावेदन अदालत महेन्द्रनगरले १५ वैशाख गरेको निर्णय, जसबाट उनीमाथि सामूहिक बलात्कार गर्ने सागर भट्ट (२५) र अमर अवस्थी (३०) ले सफाइ पाएका छन्।

१४ वर्षको उमेरमा चैत २०६८ मा एसएलसी परीक्षा दिन बैतडीको पाटन आएको वेला उनी बलात्कृत भएकी थिइन्। रक्षा नेपाल नामक संस्थाको सहयोगमा कानूनी लडाईं लडेकी शर्मिलालाई फागुन २०६९ मा बैतडी जिल्ला अदालतले भने न्यायको अनुभूति गराएको थियो, अभियुक्तद्वयलाई १३–१३ वर्ष कैद र रु.५०–५० हजार जरिवाना फैसला गरेर।

त्यसपछि गाउँमा बस्न असहज भएर काठमाडौंस्थित रक्षा नेपालमै आश्रय लिएकी शर्मिलाको पढाइको आर्थिक अभिभारा अमेरिकी नागरिक लेस्ली ब्राउनले लिएका थिए। यसबीचमा तेक्वान्दोमा ब्लु बेल्ट लिएकी उत्साही शर्मिला भन्छिन्, “पुनरावेदन अदालतका न्यायाधीशहरूलाई सोध्न चाहन्छु, ममाथि बलात्कार गर्नेहरूलाई कुन विवेकको आँखाले निर्दोष देख्नुभयो?”

बैतडीमा पढ्दा इन्जिनियर बन्ने सपना देखेकी उनी अब वकील बन्न चाहन्छिन्। “पटक–पटक मरेर बाँच्न खोजिरहेका पीडितमाथि नै अन्याय थोपर्नेहरूको कमजोरी खोजेर कठघरामा उभ्याउन सम्भव छ? छ भने कसले उभ्याउने?” आक्रोशित शर्मिलाको प्रश्न छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>