समाचारबिहीबार, साउन १, २०७१
संयुक्त राष्ट्रसंघका उपमहासचिव आउँदै
संयुक्त राष्ट्रसङ्घका उपमहासचिव हेर्भी लाड्सौस ५ साउनमा नेपाल आउने भएका हुन् । नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखनका क्रममा भएका प्रगति तथा नेपाली सेना र सुरक्षा निकायको वस्तुस्थितिबारे जानकारी लिने उद्देश्यले भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनी सरकारको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार स्वास्थ्योपचारका सिलसिलामा अहिले अमेरिकामा रहेका प्रधानमन्त्री कोइराला उपमहासचिव हेर्भीको भ्रमणका बेला स्वदेश आइसक्ने छन् । उपमहासचिव हेर्भीले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गर्ने ‘शान्ति कायमका परिवर्तित कार्यक्षेत्र र आयाममा नेपालको सहभागिता’ विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
उनले ५ साउनमा नेपाली सेनाले आयोजना गर्ने कार्यक्रममा पनि सहभागिता जनाउने मन्त्रालयले जनाएको छ । कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारीका साथै रक्षा, गृह र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।
रासस

