थप समाचारबिहीबार, साउन १, २०७१

बीपीको सम्झनामा कांग्रेसले के–के गर्दैछ ?

हिमालखबर

कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको सम्झनामा ६ साउनदेखि २४ भदौसम्म विभिन्न कार्यक्रम गर्ने भएको हो । बीपी कोइराला जन्मशताब्दी कार्यक्रमको रुपमा कांग्रेसले ‘बीपी विचार यात्रा’ आयोजना गर्ने जनाएको छ ।

बीपी विचार यात्रा धनकुटाबाट शुरु गरेर भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर र काठमाडौंसम्म आयोजना हुने कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले जानकारी दिए । जुटमिल मजदुर आन्दोलनको क्रममा पक्राउ परेका कोइरालालाई धनकुटाबाट काठमाडौं ल्याउने क्रममा बास राखिएको, खाना–खाजा खुवाइएको एवम् अन्य ऐतिहासिक महत्वका स्थानमा विचार यात्रा संचालन गरिने कांग्रेसले जनाएको छ ।

विचार यात्रा एक जिल्लाले अर्को जिल्ला र एक गाविसले अर्को गाविसलाई निरन्तर हस्तान्तरण गर्ने गरी जनपरिचालन हुने पौडेलले बताए । यात्राको क्रममा ओखलढुंगामा कवि गोष्ठी, सिन्धुलीको दुम्जामा स्वास्थ्य शिविर र हरेक जिल्लामा एउटा विशेष कार्यक्रम, भिडियो प्रदर्शनी, सांस्कृतिक कार्यक्रम लगायतका हुने कांग्रेसले जनाएको छ ।

बीपीकै सम्झनामा २३ भदौमा राजधानीको विशालनगरमा विशेष विचारसभा आयोजना हुनेछ । जन्मशताब्दीको पहिलो कार्यक्रम भने ६ साउनमा विराटनगरस्थित जुटमिलमा हुने कांग्रेसले जनाएको छ । जुटमिलमा वृक्षारोपण, विचारसभा, प्रजातन्त्रसेनानी सम्मान कार्यक्रम आयोजना हुने पौडेलले जानकारी दिए ।

उनका अनुसार ७ साउनमा विराटनगरस्थित एलिट क्लबमा “वी.पी.को सपनाः भोलीको नेपाल” विषयक विचार गोष्ठी र ७ साउनमै धरानमा वृहत साहित्य गोष्ठी आयोजना हुनेछ । अन्तिम कार्यक्रम भने २४ भदौमा काठमाडौंको सुन्दरीजल बीपी संग्रहालयमा आयोजना हुने कांग्रेसले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>