थप समाचारशुक्रबार, साउन २, २०७१
मलेशियन विमानमा मिसाइल आक्रमण, २९८ को मृत्यु
नेदरल्याण्ड्सको एमस्टर्डमबाट क्वालालम्पुरका लागि उडेको फ्लाइट एमएच–१७ को विमान रुससँग सीमा जोडिएको पूर्वी युक्रेनमा दुर्घटना भएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले विमानमा मिसाइल आक्रमण भएको जनाएका छन् । मलेशिया र अमेरिकी अधिकारीहरुले पनि विमान मिसाइल आक्रमणबाट दुर्घटनाग्रस्त भएको बताए पनि मिसाइल आक्रमण कस्ले गर्यो भन्ने एकिन नभएको जनाएको छन्।
विमानमा १५ जना चालक दलका सदस्यसहित २९८ यात्रु सवार रहेको एयरलाइन्सले जनाएको छ । जसमध्ये तीन जना बालबालिका रहेको जनाइएको छ ।
विमानमा नेदरल्याण्ड्सका १५४, मलेशियाका ४३, अष्ट्रेलियाका २७, इन्डोनेशियाका १२, बेलायतका ९, जर्मनीका ४, बेल्जियमका ४, फिलिपिन्सका ३, क्यानाडाका १ र अन्य देशका ४१ यात्रु रहेको बताइएको छ ।
रडारसँग सम्पर्क विच्छेद हुनु ठिक अगाडी विमान युक्रेनको युद्धग्रस्त क्षेत्रमाथि उडिरहेको र रुसी आकाशमा प्रवेश गर्न थालेको मलेशियाली अधिकारीहरुले जनाएका छन् ।
ग्रिनिच समय अनुसार बिहीबार १७ जुलाई विहान १०:१५ बजे एमस्टर्डमबाट उडेको विमान राति १०:१० मा क्वालालम्पुर पुग्नु पर्ने थियो । तर विमान उडेको ४ घण्टामै रडारसँग सम्पर्क विच्छेद भएको थियो ।
आरोप प्रत्यारोप
विमान दुर्घटना भएको क्षेत्रमा रुस समर्थक विद्रोही र युक्रेन सरकारबीच सशस्त्र संघर्ष चलिरहेको छ । यद्दपी दुवै पक्षले आफूले विमानमाथि आक्रमण नगरेको बताएका छन् ।
युक्रेनका गृहमन्त्रीका सल्लाहकार एन्टन हेराशचेंकले ‘बक लञ्चर’ बाट प्रक्षेपण गरिएको आधुनिक मिसाइलले विमानमा प्रहार भएको र त्यस्तो मिसाइल रुसमा बन्ने गरेको आरोप लगाएका छन् । उनले यस्ता मिसाइलहरु रुसले विद्रोहीहरुलाई उपलब्ध गराएको पनि दाबी गरेका छन् ।
यता युक्रेनका विद्रोही नेता अलेक्जेन्डर बोरोडाइले युक्रेन सरकारले विमानमाथि आक्रमण गरेको आरोप लगाएका छन् । उनले रुसको सरकारी टेलिभिजनसँग भनेका छन्, “यो यात्रुबाहक विमानलाई युक्रेनको वायु सेनाले आक्रमण गरी ध्वस्त बनाएको हो ।”
दुर्घटनाग्रस्त बोइंग ७७७–२०० विमान गत मार्च महिनामा क्वालालम्पुरबाट बेजिंग जाँदै गर्दा वेपत्ता भएको विमान एमएच ३७० कै मोडलको विमान हो ।
—————————————————————————————————————————————————————————-
मलेशियन विमान दुर्घटनाग्रस्त
मलेशियन एयरलाइन्सको विमान पूर्वी युक्रेनमा दुर्घटनाग्रस्त भएको छ ।
नेदरल्याण्ड्सको एमस्टर्डमबाट क्वालालाम्पुरका लागि उडेको विमान १ साउन राति दुर्घटनाग्रस्त भएको हो । मलेशियन एयरलाइन्सले ट्विट गरेर आफ्नो एमएच १७ विमान युक्रेनको आकाशबाट हराएको जनाएको छ ।
युक्रेनका सरकारी अधिकारीले भने आतंककारीले मिसाइल आक्रमणबाट विमान खसालिएको दावी गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
विमानमा २९५ यात्रु सवार थिए भने चालक दलका १५ सदस्य थिए ।
