समाचारशुक्रबार, साउन २, २०७१
प्रहरी सहायक निरीक्षकविरुद्ध बलात्कारको मुद्दा
अछामका प्रहरी सहायक निरीक्षक लालमणि नाथले पन्ध्र वर्षीया किशोरी जबर्जस्ती करणी गरेको आरोपसहित जाहेरी परेको छ । प्रहरी सहायक निरीक्षक नाथले घुघुरकोट–२ की किशोरीलाई जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेको हो ।
किशोरीका आफन्तले नाथविरुद्ध १ साउनमा जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दिएका हुन् । नाथले ३० असारमा किशोरीलाई बलात्कार गरेको जाहेरीमा उल्लेख भएको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए ।
बैतडी रुद्रेश्वर घर भएका ४० वर्षीय नाथ इलाका प्रहरी कार्यालय घुघुरकोटमा कार्यरत छन् । किशोरी बलात्कारको आरोप लागेका नाथलाई जागिरबाट निलम्बन गर्न १ साउनमै क्षेत्रीय प्रहरी कार्यालयलाई पत्र लेखेको खड्काले जानकारी दिए ।
खड्काका अनुसार आरोपित नाथ घटना भएको भनिएको दिनदेखि नै जिल्ला प्रहरीको नियन्त्रणमा छन् । किशोरीको १ साउनमा नै जिल्ला अस्पताल मङ्गलसेनमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
रासस
