थप समाचारशुक्रबार, साउन २, २०७१
नवजात शिशु मृत्युदरमा कमी आएन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन, सेभ दि चिल्ड्रेन, युएसआइडी लगायतका संस्था सक्रिय हुँदाहुँदै पनि विगत पाँच वर्षदेखि नवजात शिशुको मृत्युदरमा घटेको छैन ।
सन् २००६ को स्वास्थ्य तथा जनसाङ्ख्यिक सर्वेक्षणमा एक हजार जीवित शिशु जन्ममा ३३ नवजात शिशु मर्ने सार्वजनिक भएको थियो भने पछिल्लो सन् २०११ मा गरिएको अर्काे सर्वेक्षणमा पनि त्यो सङ्ख्या कायम नै रहेको देखिएको थियो । हरेक पाँचपाँच वर्षमा गरिने स्वास्थ्य तथा जनसाङ्ख्यिक सर्वेक्षणको अर्काे सर्वेक्षणमा पनि यही आँकडा आउने हो की भन्ने चिन्ता स्वास्थ्य सरोकारवालाको छ ।
मन्त्रालयका अनुसार नेपालमा प्रतिवर्ष करिब ६ लाख ६२ हजार शिशु जन्मन्छन् । यीमध्ये २२ हजार शिशुको जन्मेको २८ दिन नपुग्दै मृत्यु हुने गर्दछ । जन्मेदेखि २८ दिनसम्मको शिशुलाई नवजात शिशु भन्ने गरिन्छ ।
लामो सयमदेखि नवजात शिशुको स्वास्थ्यका बारेमा अध्ययन अनुसन्धान तथा पठनपाठन गर्दै आएका प्रा.डा. रमेशकान्त अधिकारी भन्छन्, “नवजात शिशुको स्याहारका बारेमा आवश्यक ज्ञानको कमी नै मृत्युको प्रमुख कारण हो ।”
अधिकांश शिशुको मृत्युको मुख्य कारण सङ्क्रमण भएको एक अध्ययनले देखाएको थियो । नाभी काटेपछि औषधि लगाउँदामात्र पनि नवजात शिशुको मृत्युदरमा २३ प्रतिशत कमी आएको अध्ययनले देखाएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, बालस्वास्थ्य महाशाखा नवजात शिशु मृत्युदरमा कमी ल्याउन जिल्ला अस्पतालमा नवजात सघन उपचार केन्द्र (न्युनेटल आइसियु) सेवा सञ्चालनमा ल्याउने तयारीमा छ ।
महाशाखाका प्रमुख डा श्यामराज उप्रेतीले पहिलो चरणमा दश जिल्ला, सबै अञ्चल अस्पताल, ४० भन्दा बढी स्वास्थ्य चौकीमा यस्ता सेवा उपलब्ध हुने जानकारी दिए ।
रासस
