थप समाचारशनिबार, साउन ३, २०७१

अधिकांशलाई गर्भपतनबारे कानूनी व्यवस्था थाहा छैन

हिमालखबर

नेपालको प्रजनन स्वास्थ्यका क्षेत्रमा क्रियाशील कृपानामक गैरसरकारी संस्थाले मुलुकका १० जिल्लामा गरेको सर्वेक्षणले अझै पनि शहरी क्षेत्रका ५३ प्रतिशत महिला यसबारे अनभिज्ञ रहेको पुष्टि गरेको छ ।

शहरी महिला ४१ प्रतिशत र पुरुष ४७ प्रतिशत तथा ग्रामीण महिला ३८ प्रतिशत र पुरुष ३९ प्रतिशतलाई मात्र यसका बारेमा ज्ञान रहेको अध्ययनले देखाएको छ ।

कृपाले हिमाल, पहाड र तराई क्षेत्रका १० जिल्लाका एक हजार दुई महिला र एक हजार २०० पुरुषसँग सोधेको प्रश्नमा ८२ प्रतिशत सहभागीले गर्भपतन सेवालाई निःशुल्क गराइनुपर्ने सुझाव दिएका थिए ।

यो सर्वेक्षण मुलुकका पाँचवटै विकास क्षेत्रलाई समेट्ने गरी गत वैशाख १६ देखि जेठ ९ गतेसम्म काठमाडाँै, कास्की, सुर्खेत, धनकुटा, डोटी, मोरङ, पर्सा, रुपन्देही, बाँके र कैलालीमा सञ्चालन गरिएको संस्थाका निर्देशक आनन्द तामाङले जानकारी दिए ।

नेपालमा गर्भपतनलाई सन् २००२ मा कानूनी मान्यता दिइएको हो भने सुरक्षित गर्भपतन सेवा सन् २००४ बाट शुरु भएको थियो ।

अहिले मुलुकका ७५ वटै जिल्लामा सुरक्षित गर्भपतन सेवा उपलब्ध भए पनि सरकारी अस्पतालबाटै निःशुल्क रुपमा यो सेवा प्रदान गर्ने व्यवस्था हुन आवश्यक भएको आवाज उठ्दै आएको छ ।

मुलुकको कानूनले १२ सातासम्मको गर्भपतनलाई छुट दिए पनि त्यससम्बन्धी आवश्यक ज्ञान र कानूनी प्रावधानबारे जानकारी नहुँदा अबेर भइसकेपछि मात्र महिला स्वास्थ्य संस्थामा पुग्ने गरेको अध्ययनले देखाएको छ ।

सुरक्षित गर्भपतनका लागि सरकारले स्वास्थ्य संस्थालाई एक हजार १५० शुल्क निर्धारण गरेको छ । तर अधिकांश महिला गर्भपतन गर्नका लागि तोकिएको समयसीमा भन्दापछि स्वास्थ्य संस्था पुग्ने गरेकाले अवैधरुपमा गर्भपतन गराउँदा ज्यूज्यानको खतरा र कानुनको बर्खिलापमात्र नभई अनावश्यक रुपमा महँगो सेवा तिर्नुपर्ने बाध्यता छ ।

समग्रमा अझै पनि ६० प्रतिशतभन्दा बढी जनसङ्ख्यालाई सुरक्षित गर्भपतन सेवाले कानूनी मान्यता पाएको बारेमा जानकारी नभएको तथ्याङ्कले देखाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>