थप समाचारशनिबार, साउन ३, २०७१
‘फिल्म र धारवाहिक हेरेपछि अपहरण’
फुटवल हेर्न भरतपुर मावि पुगेका स्थानीय तीन बालकका अभिभावकबाट ५० हजार रुपैयाँ फिरौति लिएका टेकबहादुर सुयलबाट प्रहरीले २७ हजार रुपैयाँ बरामद गरेको छ भने अन्य रकम मोबाईल, फुटवल, फुटवलका जर्सी, मोजा लगायतका सामग्री खरिद गरेको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शान्तिराज कोईरालाले जानकारी दिएका छन् ।
भरतपुर–७ का १७ वर्षीय सुयलले स्थानीय सोहन खड्का (१२), भुवन पौडेल (१३) र सागर कुँवर (१४) लाई फुटवल खेलाडी बनाईदिने भन्दै नारायणगढको क्याम्पाचौर लगेर वन्धक बनाएपछि सागरकी आमा गिता कुँवर र सोहनका हजुरवुबा मानबहादुर खड्कालाई फोन गरि दश लाख रुपैया फिरौती मागेका थिए ।
त्यसक्रममा सोहनका पिता धनबहादुर खड्काले पचास हजार रुपैयाँ दिएर बालकहरुलाई घर फिर्ता लगेका थिए ।
प्रहरीले सुयलको मोबाइल ट्रयाक गरी भरतपुरबाटै १ साउनमा उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले सुयललाई जिल्ला अदालतबाट दश दिन थुनामा राख्ने म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
टेलिभिजनमा देखिने ‘सिआईडी’ जस्ता धारावाहिक र फिल्महरुबाट प्रभावित भई आफूले पनि अपहरण गरेको उनले बताए । उनले आफूले लिएको १५÷ १६ हजार ऋण तिर्न अपहरण गरेको प्रहरीलाई बयान दिएका छन् ।
राष्ट्रिय मावि कृष्णपुरमा १० कक्षामा अध्ययन गर्ने सुयलका आमाबाबु मजदुरी गर्छन ।
अपहरणमा संलग्न ब्यक्तिलाई अनुसार ७ देखी १५ बर्ष सम्म कैद सजाय हुनसक्ने कानूनी व्यवस्था छ ।
सविता श्रेष्ठ, चितवन
