थप समाचारशनिबार, साउन ३, २०७१
छात्रालाई सताउने मेडिकल कलेजका कर्मचारी आन्दोलनपछि निष्काशित
नेपालगञ्ज मेडिकल कलेजका प्रिन्सिपलका पीएका रूपमा कार्यरत भारतीय नागरिक हेमन्त पाण्डेले धम्की, प्रलोभन र ब्ल्याकमेल गर्दै छात्राहरूलाई लामो समयदेखि रातको समयमा फोन गरेर सताउँदै आएकोमा एक पीडित छात्राले २ साउनमा प्रतिकार गरेकी छन् ।
दोस्रो वर्षमा अध्ययनरत छात्राले पाण्डेले ‘ब्ल्याकमेल’ गर्दाको टेलिफोन संवाद रेकर्ड गरी सार्वजनिक गरिदिएपछि विद्यार्थीले सामूहिक रूपमा पाण्डे विरुद्ध आन्दोलन गरेका थिए ।
पीडित छात्राहरूले सुनाएको रेकर्डिङमा पाण्डेले ‘मैले राति १२ बजे फोन गर्दा तिम्रो फोन कहाँ बिजी थियो ? आई मिस यु, आई लाइक यु, सँधै मलाई गुडनाइट भनेर मात्र सुत्नू, बिहानै गुडमर्निङ भन्न पाँच बजे मैले फोन गर्छु, बिजी नराख्नू’ भनेको सुनिन्छ ।
पीडित छात्राले अरू संवादमा अपशब्द प्रयोग भएकाले रेकर्ड गरे पनि सुनाउन नसकेको बताइन् । पाण्डेले संवादमा आफूले चाहेमा कम नम्बर दिन र फेल नै गरिदिनसक्ने भन्दै ‘आफूसँग नजिक रहनू’ भन्दै बारम्बार ‘सम्झाएका’ छन् ।
दोस्रो वर्षमा अध्ययनरत छात्राले २ साउनमा प्रतिबाद गरेपछि पाण्डेले अन्य छात्राहरूलाई पनि यसरी धम्काउँदै आएको खुलेको छ ।
त्यसपछि दोस्रो वर्षकै अन्य चार जना छात्राले आफूहरू पनि यसैगरी पीडित भएको बताएका थिए । पछिल्लो पटक पाण्डेको ब्ल्याकमेलमा परेकी एक छात्राले आफू भन्दा अगाडिका ब्याजीलाई पनि उसले यस्तै दुव्र्यवहार गर्ने गरेको र आफूलाई पनि दैनिक ७ पटक भन्दा बढी फोन आउने गरेको बताइन् ।
पीडित छात्राले अभिभावकसँग भनेपछि उनका अभिभावकले कलेज प्रशासनमा गुनासो गरेका थिए । प्रशासनले गुनासोको कुनै सुनुवाई नगरेपछि अभिभावक चिसापानीमै आए ।
त्यसपछि विद्यार्थीले कारबाहीको माग बढाएपछि मेडिकल कलेजले पाण्डेको राजीनामा गराउने आश्वासन दिएको थियो । त्यसरी अभिभावक फर्केपछि कलेजले पाण्डेलाई कारबाही गर्न कुनै चासो नदेखाएकाले २ र ३ साउनमा विद्यार्थी आन्दोलित भएका थिए ।
पाण्डेलाई कारबाही माग गर्दै २ साउनमा कलेज प्रशासनमा विद्यार्थीले ताला लगाएका थिए । तत्काल कारबाही गर्ने प्रशासनले फेरि आश्वासन दिएपछि ताला खुलेको थियो ।
नेपालगञ्ज मेडिकल कलेजका एमडी सुरेशकुमार कनौडियाले अनुसन्धानमा पाण्डेको गल्ती देखिएकाले निश्कासन गरिएको जानकारी दिए ।
२ साउनमा विद्यार्थी आन्दोलनमा उत्रिएपछि पाण्डेलाई ईलाका प्रहरी कोहलपुरले नियन्त्रणमा लिएको थियो । कलेजले निश्कासन गरिसकेको, पीडितका तर्फबाट कुनै लिखित उजुरी नपरेको र पाण्डेले पीडित र उनका अभिभावकसँग आइन्दा यसो नगर्ने भन्दै माफी मागेकाले उनलाई ३ साउन दिउँसो छोडेको प्रहरी नायव उपरिक्षक जनक शाहीले जानकारी दिए ।
तुफान न्यौपाने, नेपालगञ्ज
