समाचारआइतबार, साउन ४, २०७१
महाकालीमा बाढी, एक बेपत्ता
३ साउन बिहानदेखि नै महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत सीमा नाकामा यातायात बन्द गरिएको छ ।
नदीमाथिको शारदा बाँधमा पानीको बहाव एक लाख क्यूसेक प्रति सेकेण्ड भन्दा बढी पुगेपछि दुई देशबीचको यातायात सेवा बन्द गरिएको हो । सय वर्ष पुरानो शारदा बाँधमा खतराको संकेत भन्दा बढी पानीको बहाव रहेको जनाउदै बन्द गरिएको गड्डाचौकी इलाका प्रहरी कार्यालयले जनाएको छ ।
३ साउन साँझसम्म पानीको बहाव २ लाख ५२ हजार क्यूसेक प्रति सेकेण्ड रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।
महाकाली नदीमा आएको बाढीले दाउरा संकलन गरिरहेकी भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी ४५ वर्षीया तुलसीदेवी पन्तलाई बगाएको छ ।
उनी शारदा बाँध नजिकै नदीमा बगेर आएका दाउरा संकलन गरिरहेको अवस्थामा बगेकी हुन । उनको खोजी भइरहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच डडेल्धुराको शिर्ष गाविस–५ मकैलका ४० वर्षीय पदम बहादुर बिष्टको ऐडीवान खोलाले बगाएर मृत्यु भएको छ । महाकाली अञ्चल प्रहरी कार्यालयका अनुसार उनको शव एककिलोमिटर टाढा फेला पारेको छ ।
बच्चु विक, महेन्द्रनगर
