समाचारआइतबार, साउन ४, २०७१
मणिपाल अस्पतालमा सबै सेवा बन्द
सफाइ मजदुरले हड्ताल गरेपछि काम गर्ने वातावरण नभएको भन्दै मणिपाल शिक्षण अस्पताल प्रशासनले ४ साउनमा सूचना टाँस गरी सबै सेवा बन्द गरेको हो । प्रशासनले दिउँसो एक बजे सेवा बन्द गरिएको सूचना टाँस गरेको थियो ।
पोशाक र आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउन माग गर्दै मजदुर आन्दोलित भएपछि ३२ असारदेखि अस्पताल दुर्गन्धित बनेको थियो । अस्पतालमा कार्यरत १३२ सफाइ मजदुर आन्दोलनमा उत्रिएका हुन् ।
अस्पतालमा फोहोरको दुर्गन्धले काम गर्न सक्ने अवस्था नभएकोले सबै सेवा बन्द गरेको अस्पतालका प्रशासक वीरेन्द्र यादवले बताए । सफाई मजदुरले अरुलाई पनि फोहर उठाउन दिएका छैनन । अस्पताल प्रसाशनले फोहर उठाउन ३ साउनमा बाहिरबाट मजदुरहरु ल्याए पनि अस्पतालका सफाइ मजदुरले काम गर्न नदिएपछि उनीहरु फर्किएका थिए ।
२ साउनदेखि इमर्जेन्सी सेवा बन्द भएकोमा ४ साउनदेखि ओपीडीसहित अन्य सबै सेवा ठप्प भएको यादवले जानकारी दिए । विवाद समाधानका लागि ४ साउनमा मजुदर र अस्पताल ब्यवस्थापनबीच वार्ता हुने बताइए पनि अहिलेसम्म वार्ता भएको छैन ।
आफूहरुलाई सुरक्षित औजार र पोसाक नदिएसम्म काममा नफर्कने मजदुरहरुले अडान राख्दै आएका छन् ।
अस्पताल व्यवस्थापनले स्वास्थ्य संस्थासँग सम्बन्धितदेखि ट्रेड युनियन र श्रमबारेका सबैखाले ऐन नियम पालना गरेर मजदुरलाई सुविधा दिइरहेको दाबी गर्दै मजदुरहरुको हडताल गैरकानूनी भएको बताएको छ ।
प्रशासक यादवले आगामी वर्ष सम्झौता नवीकरण गर्दा मात्रै उनीहरुका मागबारे सुनुवाइ गर्न सकिने बताए । “एप्रोन लगायत सामान चाहिए दिन सक्छौं तर, अरु माग सम्बोधन गर्न सकिन्न,” यादवले भने, “उनीहरुलाई पर्याप्त सुविधा दिइएको छ र सुरक्षासम्बन्धी तालिम पनि दिएकै छौं, थप चाहिए पनि दिन सकिन्छ । तर आन्दोलन रोकिनुपर्छ ।”
माधव बराल, पोखरा
